सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौं दक्षिण एसियाली खेलकुद (साग) मा निर्मल श्रेष्ठ र निरञ्जन श्रेष्ठका दाजुभाइ सहभागी थिए।
यी दाजुभाइले स्वर्ण जितेर नेपाली खेलकुदमा इतिहास बनाउन सफल भए।
यही मौका १५ वर्षपछि तेक्वान्दोकै आले दाजुभाईलाई जुरेको छ। हाल १३ औं सागको तयारीमा रहेका भैरहवाका गोविन्द आले र किरण आलेलाई पनि स्वर्ण पदकको दावेदार मानिएको छ।
तर, उनीहरूले डिसेम्बर ३ देखि सुरु हुने तेक्वान्दोतर्फको स्पर्धामा स्वर्ण जितेर निर्मल र निरञ्जनको कीर्तिमान बराबरी गर्ने हुन कि, होइनन्, यो समयले नै बताउनेछ।
गोविन्द यसै वर्ष नेपालगञ्जमा आयोजना भएको आठौं बृहत राष्ट्रिय खेलकुदको स्वर्ण विजेता खेलाडी हुन्। उनले सुनिल गुभाजुलाई हराएर पहिलो पल्ट साग गेम्सको बन्द प्रशिक्षणमा पर्न सफल भए।
उनका भाइ किरण राष्ट्रिय प्रतियोगितामा तेस्रो भएका थिए। तर, उनको खेल कौशललाई हेरेर प्रशिक्षकले साफ गेम्सको छनोटमा बोलाएका थिए। छनोटमा उनले आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै २९ सदस्यीय टोलीमा आफूलाई पनि समाहित गर्न सफल भए।
हाल पुलिस क्लबमा आवद्ध गोविन्द ५८ केजी मुनी तौल समूहमा भिड्दै छन्। किरण ८० केजी तौल समूहमा भिडिरहेका छन्।
बुवाको प्रेरणाले तेक्वान्दो खेल्न सिकेका आले दाजुभाई मध्ये गोविन्दको बिहे भइसकेको छ भने उनको ३ महिनाको छोरी पनि छ। भन्छन्, ‘हामी दुबै स्वर्ण जितेर निर्मल र निरञ्जन श्रेष्ठको कीर्तिमानको बराबरी गर्ने कोशिश गर्नेछौं।’