२०२४ सालको श्रीपञ्चमी। असनको त्यौडस्थित गायिका उर्मिला श्रेष्ठको पुर्खेउली घर। नेपाली सांगीतिक क्षेत्रका दुई हस्ती गणेश रसिक र हिरण्य भोजपुरे। साथमा तीर्थ शेरचन पनि।
उनीहरू नेपालको चर्चित सांगीतिक समूह ‘लेकाली’ गठन गर्न जम्मा भएका थिए। बैठकमा हिरण्यले प्रस्ताव राखेछन्–ब्याण्डको नाम ‘टेम्के परिवार’ राख्ने। भोजपुरमा जन्मिएका कारण हिरण्यलाई भोजपुरको प्रसिद्ध पहाड ‘टेम्के डाँडा’ प्रति भावनात्मक लगाव थियो। उनको प्रस्तावमा रसिकले मोहर लगाइहाले।
किनभने रसिक पनि भोजपुरबाटै काठमाडौं छिरेका थिए। आफू जन्मिएको थलोलाई संगीतमार्फत नै भए पनि राजधानीमा स्थापित गराउन सकिन्छ कि भन्ने लोभ थियो, उनमा पनि।
तर, यी दुबैको सहमतिलाई काठमाडौंमै हुर्किएका शेरचनले तुसारापात गरे। उनले भने– ‘टेम्के’ को सट्टा बरु ‘टाम्कुलो’ राखौं। दमाईले बजाउने बाजा पनि हो। संगीतसँग सम्बन्धित पनि छ।
याे पनि पढ्नुहाेस।
यी तीनै जनाको कुरा सुनिरहेकी उर्मिलालाई भने उनीहरूको प्रस्ताव उट्पट्याङ लाग्यो। उर्मिलाको जन्म काठमाडौंको बिशुद्ध नेवार परिवारमा भएको थियो। उनले यसअघि न ‘टेम्के’ को नाम सुनेकी थिइन्, न ‘टाम्कुलो’ को। दुबैको प्रस्तावप्रति ब्यंग गर्दै भनिन्, ‘हे, के कुरा गरिरहेको।’
केही बेरको जुगलबन्दीपछि सहमति जुर्यो, ब्याण्डको नाम ‘लेकाली परिवार’ राख्ने।
२०२४–२८ सालसम्म नेपाली सांगीतिक क्षेत्रमा निकै सक्रिय यही ब्याण्ड फेरि जुरमुराउने प्रयासमा छ। ब्याण्डका तीन मुख्य सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ नेपालयले आयोजना गर्ने पलेंटी शृंखलामा ३४ वर्षपछि संयुक्त रूपमा देखा परेका छन्।
सन् १९८५ मा क्यानडामा कार्यक्रम गरेयता यिनीहरू एकजुट हुन सकिरहेका थिएनन्। ‘यसलाई संयोग नै मान्नुपर्छ। काम र घरायसी व्यस्तताले गर्दा सँगै गाउने अवसर जुर्न सकेको थिएन,’ ‘लेकाली परिवार’ को महत्त्वपूर्ण सदस्य उर्मिलाले बिएल नेपाली सेवासँग भनिन्।
‘लेकाली परिवार’ जन्माउन उनको भूमिका नेतृत्वदायी छ। २०२२ सालदेखि रेडियो नेपालबाट गीत गाउँदै आएकी उर्मिला त्यति बेला चर्चित बनेकी थिइन, जब उनले हिरण्य भोजपुरेसँग ‘लहरा पहरा छहराको देश’ गाइन।
गीतमा यी दुईको ‘केमेस्ट्री’ देखेपछि नेपाली संगीतका धरोहर नातिकाजी पनि अवाक बनेका थिए।
त्यति बेला बाहिरी कलाकारलाई रेडियो नेपालमा गीत गाउन अहिले जस्तो सहज थिएन। एउटा गीत गाएको १० रुपैयाँ पाउँथे। त्यो पनि ठूलो सोर्सफोर्स र लामो प्रतिक्षा पछि मात्र।
रसिक र हिरण्य त्यसै पनि बेरोजगार। उर्मिला भने सिंहदरबारमै रहेको तत्कालिन आर्थिक योजना मन्त्रालयमा शाखा अधिकृतमा कार्यरत थिइन। त्यसैले रेडियो नेपालमा उनको थोरै भएपनि धाक चल्थ्यो।
रसिक विश्व चर्चित ब्याण्ड बिटल्सबाट निकै प्रभावित थिए। ‘लेकाली परिवार’ खोल्नुअघि उनी रामेश, रायन र मञ्जुलहरूले २०२४ को सुरुवातमै स्थापना गरेको ‘राल्फा’ ब्याण्डसँग जोडिएका थिए। तर, त्यो ब्याण्डमा भूमिका नपाएपछि र ‘राल्फा’ को धार राजनीतितर्फ मोडिएपछि रसिक ६ महिनाभित्रै ब्याण्ड छोड्ने निर्णयमा पुगिसकेका थिए।
‘लेकाली’ ले २०२५ सालमा काठमाडौंमा पहिलो कन्सर्ट गर्यो। त्यति बेला ब्याण्डको काठमाडौंमा खासै चर्चा थिएन। ब्याण्डलाई पहिलो कन्सर्ट गर्न हम्मे हम्मे नै पर्यो।
तर, नेपाल प्रहरीका तत्कालिन आइजी रोमबहादुर थापा र महांकाल नमूना प्राइमरी स्कुल र राष्ट्रिय प्रौढ हाई स्कुल महाबौद्धको कारण उनीहरू आफ्नो पहिलो कन्सर्ट भब्य बनाउन सफल भए।
‘लेकाली’ को जन्म हुनुअघि नेपालमा आधुनिक गीत पनि हिन्दी फिल्मी शैलीमा गाउने गरिन्थ्यो। तर, ‘लेकाली’ ले लोक–भाखा, लोकथेगो, उखानटुक्का र लोकवाणीलाई आफ्नो आधुनिक गीतमा समायोजन गराएपछि धेरै चाँडो ब्याण्डको चर्चा भयो।
‘हामीलाई अझैं सम्झना छ, हाम्रो पहिलो कन्सर्टको टिकट बेच्ने काम स्कुलले गरेको थियो। रोमबहादुरले कार्यक्रम गर्ने ठाउँ निःशुल्क उपलब्ध गराउनु भयो,’ आफ्नो ब्याण्डले पाएको पहिलो सफलताको कहानी सुनाउँदै रसिक भन्छन्, ‘यसपछि हाम्रो गीत ‘ए है है’, ‘काफल पाक्यो’, ‘लहरा–पहरा’, ‘टेम्के डाँडा’, ‘खोलाको तीर नाचेर हिँड्छ’ रेडियो नेपालबाट घन्कन थाल्यो।’
पहिलो कन्सर्टको अपार सफलतापछि ‘लेकाली’ लाई नचिन्ने सायदै थिए, काठमाडौंमा। ब्याण्डले २०२७ सालमा राष्ट्रिय नाचघरमा अर्को सांगीतिक कार्यक्रमको आयोजना गर्यो–‘उपत्यका।’
यसको अपार सफलतापछि ‘लेकाली’ ब्याण्डको प्रसिद्धी देशभित्र मात्र होइन, प्रवासमा पनि भयो।
यही सिलसिलामा ‘लेकाली परिवार’ ले दशैंको मौका छोपेर दार्जीलिङको सांगीतिक यात्रा सुरु गर्यो। यति बेला टिमले नपाउनु दुःख पायो। दार्जीलिङ जानुअघि टिमले देशभरी कन्सर्ट गरेको थियो।
‘कन्सर्ट गरेर जम्मा भएको १५ हजार बोकेर हामी दार्जीलिङ गएका थियौं। तर, दार्जीलिङ पुग्दा कहाँ कन्सर्ट गर्ने? कसले जिम्मा लिने केही अत्तोपत्तो थिएन। १० दिन बस्दा हाम्रो पैसा सबै सकिसकेको थियो,’ हिरण्य भोजपुरे सम्झन्छन्, ‘धेरै पछि हामी आएको थाहा पाएर स्थानीयको सहयोगमा गोर्खा दुःख निवारण संस्थाको सभाकक्षमा कार्यक्रम गर्यौं। यति बेला कन्सर्टमा लाग्ने पैसा कटाएर आम्दानी आधा–आधा गर्ने सहमति भएको थियो।’
एक दिनका लागि गर्ने भनिएको कन्सर्ट दुई दिनसम्म लम्बियो। दार्जीलिङमा भएको कन्सर्टको अपार सफलतापछि ‘लेकाली परिवार’ले कालिम्पोङ र खर्साङमा पनि कन्सर्ट गर्न भ्यायो। खर्साङमै रहँदा उनीहरूको आठ वटा गीत खर्साङ रेडियोमा रेकर्ड भयो।
‘लेकाली’ ले २०२८ सालमा काठमाडौंमा अन्तिम कन्सर्ट ‘पीजडा’ गरेको थियो। राष्ट्रिय नाचघरमा आयोजना भएको यो कन्सर्टमा उर्मिला श्रेष्ठ भने अनुपस्थित थिइन। उनी थप अध्ययनका लागि अफिसबाट क्यानडा गएकी थिइन।
कन्सर्टलगत्तै ब्यान्डका अन्य सदस्य पनि जागिरको शिलशिलामा तित्तर बित्तर भए। यसपछि उनीहरूले क्यानडामा अन्तिम कन्सर्ट गरे। अहिले फेरी मौका जुरेको छ। भन्छन्, ‘हेर्दा हेर्दै समय गुज्रेको पत्तै भएन।’
नेपाली संगीतमा अलगधार भित्र्याएर चर्चा कमाएका यी कलाकार अहिले अवकाशको जीवन बिताइरहेका छन्। बुढेसकालमा उनीहरूको इच्छा छ, एकपल्ट फेरी ब्याण्ड जुरमुर्याएको हेर्ने।