प्रचण्डकै घरमा सांस्कृतिक विचलन: नातिनी 'जालमा पार्न खोज्ने', छोरी- बुहारी उक्साउने !

हट अवतारमा प्रचण्ड नातिनीको म्युजिक भिडियो : 'फकाई फकाई जालमै पार्छु' । तस्बिर : युट्युव ।

नेपालमा कुनै समय गीत संगीतमै सांस्कृतिक विचलन भएको भनेर भाटे कारबाही गर्ने पार्टी माओवादीका सुप्रिमो प्रचण्डकी नातिनीले नै 'फकाई फकाई जालमै पार्छु' भन्दै हजुरबाको सांस्कृतिक क्रान्तिलाई नै चुनौति दिएकी छिन् ।

तर, प्रचण्ड यसलाई 'फरक क्षमताको गायन कला' भनेर नयाँ सांस्कृतिक पहिचान दिदैछन् । हिजो भाटे कारबाहीमा परेकाहरू भन्दैछन्- कम्रेड, सक्छौ नातिनीलाई भाटे कारबाही गरेर देखाउ?

अहिले मुलुकमा प्रचण्डको तेस्रो पुस्ताको चर्चा छ- नातिनी स्मिता दाहालको । कान्छी छोरी गंगा दाहालकी जेठो ज्वाइँतिरकी नातिनी हुन् स्मिता ।

कुनैबेला बाल गायिकाकाे रूपमा स्थापित स्मिता अहिले जवान भएकी छिन् र उनको परिचय गायिकाकाे बन्दैछ। 

नेपाल प्रतिभाको खानी हो। यहाँ उनीजस्ता हजारौ गायिका छन् । उनीभन्दा अघिका राम्रो गाउँने पनि होलान् । तर, ती सबैसँग प्रचण्ड जस्ता हजुरबुबा छैनन् । यसो त उनीसँग प्रचण्डको लिगेसी मात्र हाेइन परिवारका हरेक सदस्यको विरासत जाेडिएकाे छ । मन्त्री विना मगरसँग उनको माइजूको साइनो छ, भरतपुर महानगरप्रमुख रेणु दाहालसँग ठूली आमाको । आफ्नै आमा गंगा प्रचण्डको स्वकीय सचिव छिन्। अर्का बाबु (आमाकाे दाेस्राे श्रीमान) जीवन पनि नेता बनिसके। यी सबैले प्रचण्डसँग जोडिएर शक्ति पाएका छन् र त्यो शक्तिले धपक्क बलेकी छिन् स्मिता।

नेपालमा आफ्नो मनोकांक्षा पूरा गर्न निर्दोष पशुपंक्षीको मात्र हैन, यदाकदा बालबालिकाकै पनि बलि दिने गरिएका दृष्टान्तहरू ज्यूँदैछन्। निर्जीव मूर्तिका लागि त यति गरिन्छ भने प्रचण्ड त सजीव छन् । उनलाई खुशी पारेर पद र शक्ति प्राप्त गर्न नेपालमा के गाह्राे छ र। आग्रह पूर्वाग्रह नराखी हेरौं- सबै छर्लङ्ग छ।

यो सबै स्मिता दाहालको लागि बाँधिएको पृष्ठभूमि हो । यसको अर्थ उनमा कुनै प्रतिभा छैन, उनले गाउँन पाँउदिनन्, उनको निजी जिन्दगी र व्यक्तिगत स्वतन्त्रता छैन भन्न खोजिएको हैन। तर, जनसंस्कृतिको कुरा गर्दै प्रचण्डपथको दावी गर्ने प्रचण्डकै आँगनमा जुन किसिमको सांस्कृतिक वीउ रोपियो, यसमा कुनै संगति देखिदैन् । उनको पछिल्लो गीत सुन्ने, अझ म्युजिक भिडियो हेर्ने र यो गीत प्रचण्डकी नातिनीको हो भन्ने हो भने अपवाद बाहेक सबैले जिब्रो टोक्छन् र भन्छन् - प्रचण्डकी नातिनीको पनि यस्तो गीत !

कुनै समय यस्तो गीत गाउँनेलाई प्रचण्डको पार्टीले सांस्कृतिक विचलन भन्दै भाटे कारबाही गर्थ्यो । नौ दिनमा नौलो र २० दिनमा बिर्स्यो हुने नेपाली समाजको यादगार लामो छैन, त्यसैले त्यो बिर्सियो पनि होला । तर, प्रचण्डलाई सम्झाउन जरूरी छ कि तिमी आफैले कस्तो सांस्कृतिक फूल फुलायौ जो राम्ररी फक्रिन पनि नपाउँदै 'फकाई फकाई जालमै पार्छु' भन्दैछिन् । हुन त अहिले प्रचण्ड अध्यक्ष भएको पार्टीमा पैला जान पाम भन्ने गायिका नै सांसद भैसकिन् । सांस्कृतिक विचलनको योभन्दा तन्नम रूप के हुन सक्छ र ?

यसको अर्थ स्मितामाथि भाटे कारबाही गर्नुपर्छ भन्ने हैन तर प्रचण्डकी नातिनीले 'फकाई फकाई जालमै पार्छु' भन्ने गीत गाउँनु संगतिपूर्ण भने हैन । यो एक किसिमको सांस्कृतिक विचलन नै हो । अझ गजबको कुरा त प्रचण्ड स्वयंले स्मिताको बारेमा भनेका छन्- ‘स्मितासँग बेग्लै र फरक क्षमताको गायन कला छ । यसलाई निरन्तरता दिँदै सफल गायक बन्ने गतिमा उनी हिँडेकी छन् । मेरो सहयोग र समर्थन जारी रहनेछ ।’

यसबाट के प्रष्ट हुन्छ भने 'फकाई फकाई जालमै पार्छु' प्रकृतिको 'फरक क्षमताको गायन कला' मा प्रचण्ड र उनको परिवारको पूर्ण समर्थन छ । त्यसो भए अब कस्तो गीत संगीतचाँहि उनको नजरमा सांस्कृतिक विचलनको दृष्टान्त हो ? हिजो भाटे कारबाहीमा परेका भने प्रश्न गर्न थालेका छन्- ' कम्रेड, एकपटक भिडियाोमा नातिनीको सिर्जना हेर र छातिमाथि हात राखेर भन त के यही हो तिम्रो क्रान्तिले बनाउन खोजेको संस्कृति ? यदि हो भने हो भन हैन भने कम्तिमा  'फरक क्षमताको गायन कला' भनेर जनसंस्कृतिको अपान नगर ।'

सक्छौ 'फकाई फकाई जालमै पार्छु' भन्ने नातिनीलाई 'भाटे कारबाही' गर ? 

यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ- 'फकाई फकाई जालमै पार्छु' 

https://www.youtube.com/watch?time_continue=4&v=RuFvYLMooKw

प्रकाशित मिति: : 2019-07-22 23:04:35

प्रतिकृया दिनुहोस्