नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव- २०१९ सिल्भर स्प्रिङमा सुरू

अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रको सिल्भर स्प्रिङमा‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण सुरू भएको छ ।

जुन २८ साँझ नेपाली कथानक चलचित्र बुलबुल देखाएर महोत्सवको उद्घाटन गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा पुगेका सेलिब्रेटीहरूले रेडकार्पेट नाप्ने र तस्बिर खिच्ने अवसर पाएका थिए । यस्तो अवसर लिनेमा अमेरिकाका लागि 'अर्को व्यवस्था नभएका सम्मका लागि राजदूत' डा. अर्जुनकुमार कार्की, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, भेट्रन नायिका पूजा चन्द, नुमाफुङ फेमका चलचित्रकर्मी नवीन सुब्बालगायत थिए ।

 

नेपाल अमेरिका फिल्म सोसाइटी आयोजक रहेको महोत्सवमा विभिन्न मुलुकका ३४ चलचित्र प्रदर्शन गर्ने बताइएको छ । महोत्सवमा चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्रकर्मीबीच छलफल समेत गरिने बताइएको छ ।

तिनदिने चलचित्र महोत्सवको समापन समारोह चाँहि  जुन ३० मा मेरिल्याण्डको ह्यातस्भिलमा आयोजना हुने छ।

समापन समारोहमा उत्कृष्ट चलचित्रहरूलाई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको फेस्टबिल डाइरेक्टर पूर्णसिंह बराइलीले बताए । 

महोत्सवको मानार्थ सभापति नुमाफुङ फेमका चलचित्रकर्मी नवीन सुब्बा रहेका छन् ।

प्रकाशित मिति: : 2019-06-29 06:21:48

प्रतिकृया दिनुहोस्