नेपालका चर्चित गायक प्रेमध्वज प्रधानको जीवनी बीएलमा (भाग–२)
बुवा रत्नध्वजको घर बस्दा ९ वर्षको उमेरमा लगनटोलस्थित विश्व निकेतनमा भर्ना भएका थिए, प्रेमध्वज प्रधान।
स्कुलका हेडसर थिए, प्रेमबहादुर श्रेष्ठ। उनी रसिक स्वभावका थिए। २००२ साल तिरको कुरा हुनुपर्छ, उनले एकदिन प्रेमध्वलाई आफ्नो कोठामा बोलाएर भनेछन्, तिम्रो अनुहारअनुसार नाम जमेन। मेरो नामअगाडिको प्रेम तिमीलाई भयो।
त्यति बेलासम्म प्रेमध्वजको नाम थियो,गणेशध्वज। हेडसरको त्यो वाक्यपछि गणेशध्वजको नामको पुनः न्वारन भयो, प्रेमध्वजको रूपमा।
२००४ सालमा प्रेमध्वजसँग अर्को रमाइलो घटना भयो। त्यति बेला उनी कक्षा ३ को परीक्षाको तयारी गरिरहेका थिए। इन्द्रजात्रामा ज्यापू नाचको रिहर्सल हुने हुँदा उनी त्यो अवसर पनि खेल फ्याँक्न चाहँदैनथे। एकदिन भएछ के भने, ज्यापू नाचको एक साताअघि नै हिरोइन बिरामी भइन्।
आयोजकलाई पर्नु फसाद परेछ। यति धेरै परिश्रम खेल जाने भयो भनेर मुख लड्काइरहेको बेला नाटकका डाइरेक्टर बेखाले एक्कासि प्रेमध्वजतर्फ औँला देखाउँदै भनेछन्, ‘यो केटा सधैँ रिहर्सल हेर्न आउँछ। यसलाई सबै डाइलग पनि याद छ। हेर्दा केटीजस्तो पनि देखिन्छ। किन यसलाई नै हिरोइन नबनाउने।’
प्रेमध्वज जाँच छ भनेर पन्छिन खोजेका थिए। तर, नाटक मण्डलीका सबै उनको बुवासँग स्वीकृति माग्न घर पुगे।
‘पहिले बुवा पनि मान्नु भएको थिएन। पछि गाउँलेले परीक्षा बिग्रिएको खण्डमा नजिकैको शान्ति निकेतन स्कुलमा भर्ना गराइदिने आश्वासन दिएपछि राजी हुनुभयो,’गायक हुनुअघि नाट्यकार भएका ८२ बर्षिय प्रेमध्वज सम्झन्छन्।
बुवाको घर बसे पनि प्रेमध्वज तारन्तार आमाको डेरा पुगिरहन्थे। आमाबाटै उनले शास्त्रीय संगीतको गुण सिक्ने मौका पाए।
यसै क्रममा २००८ सालमा उनको भेट भयो, नेपाली संगीतका अर्का धरोहर स्वरसम्राट नारायण गोपालसँग।
नारायण गोपालसँग उनको भेटको प्रसंग पनि कम्ता रोचक छैन। त्यति बेला भेडासिंगमा प्रेमध्वजका साथी लक्ष्मणको धागो र कपासको पसल थियो। उनी दैनिकजसो लक्ष्मणको पसल पुग्थे।
एक दिन यस्तै पसलमा बसिरहेको बेला लक्ष्मणले भनेछन्–तिम्लाई आज म एउटा मित्रसँग भेट गराउँछु। राम्रो गीत गाउँछ।
सानु बाबु, त्यति बेला नारायण गोपाललाई बोलाइने नाम थियो। यही नामबाट नारायण गोपालको परिचय भएको थियो, प्रेमध्वजसँग।
पहिलो भेटमै नारायणले लक्ष्मणको पसलमा रहेको काठको फलेकमा हात ठोक्दै गजबको हिन्दी गीत सुनाए। पछि यिनीहरूको सम्बन्ध यति प्रगाढ भयो, बुवाको डरले आफ्नो घरमा लैजान नसके पनि प्रेमध्वजले आफ्नी आमाको डेरामा नारायणलाई लैजान्थे।
प्रेमध्वजकी आमा महाबौद्धस्थित असं बहालबाट डेरा सरेर जमलमा बस्न थालिसकेकी थिइन्। त्यहाँबाट नारायणको किलागलस्थित घर नजिकै पथ्र्यो। त्यसैले उनी प्रायः प्रेमध्वजको आमाको डेरामा पुगिरहन्थे। पछि अवस्था यस्तो बन्यो, नारायण र प्रेमध्वजकी आमाको दोस्ती खुब जम्यो। कारण थियो, दुवै चुरोटका अम्मली थिए।
नेपालका चर्चित गायक प्रेमध्वज प्रधानको जीवनी बीएलमा (भाग–१)- जब ६ बर्षको उमेरमा बुवा र आमाको पारपाचुके भयो