कतारमा आज ‘नेपाल आइडल बुगीबुगी इद फेस्टिवल’ हुँदैं

तस्बिरः बिएल

कतारमा आज बिहिबार ‘नेपाल आइडल, बुगीबुगी इद फेस्टिवल’ आयोजना हुँदैंछ।

दोहाको सनैयास्थित ग्रान्ड मलको एसियन टाउन एम्पिथियटरमा आज साँझ ५ बजे शुरू हुने फेस्टिवलमा सहभागी हुन नेपालबाट कलाकारको टोली दोहा आइपुगिसकेको छ।

टोलीमा नेपालको चर्चित रियालटी शो नेपाल आइडलको दोस्रो संस्करण तथा बुगिबुगी पहिलो संस्करणका उत्कृष्ट चार प्रतिस्पर्धीसहित लोक तथा आधुनिक गीतसंगीतका ख्यातीप्राप्त कलाकार, मनोरञ्जन तथा हास्यब्यंग्य क्षेत्रका चर्चित कलाकार सहभागी छन् ।

कार्यक्रम कतारमा रहेका नेपालीलाई मनोरञ्जनका लागि मात्रै नभई चितवनमा निर्माण हुन लागेको नेपालकै गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि सहयोगको पवित्र उद्देश्यसहित आयोजना गरिएको हो।

यो कार्यक्रमबाट नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रमका आयोजक तथा एनआरएनए मध्यपूर्व उपसंयोजक प्रवीन गुरुङले बताए।

कार्यक्रम मुस्लिम समुदायको सबैभन्दा पवित्र पर्व इद यस पटक पाँच तारिखमा पर्ने अनुमानसहित दोस्रो दिन अर्थात ६ तारिखमा आयोजना गरिए पनि इद ४ तारिखमै परेको छ। तर, कार्यक्रम भने पूर्वनर्धारित मिति ६ तारिखमै आयोजना गरिएको एनआरएनए मध्यपूर्व उपसंयोजक गुरुङले बताए।

कार्यक्रममा नेपाल आइडल २ का विजेता रवि ओड, फ्रस्ट रनरअप विक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारीको प्रस्तुती रहनेछ।

बुगीबुगी सिजन १ का (टप फोर) कलाकारहरू विजेता कविता नेपाली, फस्र्ट रनरअप प्रतिभा पुन, सेकेन्ड रनरअप सरोज मोक्तान र थर्ड रनरअप रबिन भुजेलले पनि आफ्नो प्रस्तुति दिनेछन्।

कार्यक्रममा चर्चित र्‍यापर भिटेन, सालको पात टपरी हुनी बोलको चर्चित लोकगीतका गायक कुलेन्द्र बिक, हाँस्यकलाकार एवं विभिन्न चरा चुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल कागेलगायत अन्य चर्चित कलाकारहरुको प्रस्तूति रहनेछ।

कतार नेपालीहरूको प्रमुख कर्मभूमिका रुपमा परिचित मध्यपूर्वको देश हो। यहाँ करिब पाँच लाख नेपालीहरु कार्यरत छन्।

यसअघि गुरूङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमलाई कतारको दोहामा सफलतापूर्वक ग्रान्ड फिनाले गराईसकेका छन्।

प्रकाशित मिति: : 2019-06-06 13:08:40

प्रतिकृया दिनुहोस्