सगरमाथामा आलिया भट्टको 'एक्सन... कट् '!

सगरमाथाको चिसोमा 'ताती' आलिया । फाइल तस्बिर

बलिउड स्टार आलिया भट्ट पनि सगरमाथा आधार शिविर पुग्ने भएकी छिन्।तर, उनको यो यात्रा पदयात्राका लागि हैन, भारतीय महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक चलचित्रको छायांकनका लागि हो।

अर्थात्, बलिउडले उसको एउटा महत्वपूर्ण चलचित्रको छायाँकन सगरमाथा क्षेत्रमा पनि गर्ने भएको छ। यही क्रममा पछिल्लो पुस्ताकी बलिउडकी ताती नायिका सगरमाथा पुग्न लागेकी हुन्।

आलियाले चलचित्रमा अरुणिमा सिंहको भूमिका निर्वाह गर्नेछिन्। यसका लागि उनले केही तौल बढाउनुपर्ने र पर्वतारोहणसम्बन्धी तालिम पनि लिनर्पर्ने हुन्छ। त्यसका लागि आफू तयार रहेको आलियाले बताएकी छिन्। 

चलचित्र भारतीय साहसी महिला पर्वतारोही अरुणिमा सिंहमाथि लेखिएको पुस्तक 'बॉर्न अगेन ऑन द माउंटेन: ए स्टोरी ऑफ लूजिंग एवरीथिंग ऐंड फाइंडिंग बैक' माथि बन्न लागेको हो। उनले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्। उनी सगरमाथा आरोहण गर्ने पहिलो अपांगता भएकी भारतीय महिला हुन्। उनले सन् १९८४ मा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बचेन्द्री पाललाई आदर्श बनाउँदै सगरमाथा चढ्ने निधो गरेकी थिइन्। उनले विश्वका ६ महादेशका  सर्वाेच्च शिखर आरोहण गरिसकेकी छिन्। 

अरुणिमालाई चोरहरूले गुडिरहेको रेलबाट फ्याँकिदिएका थिए।यो दुर्घटनामा परी उनले देब्रे खुट्टा गुमाएकी थिइन्। 

भारत, उत्तरप्रदेशकी अरुणिमा दुर्घटनामा पर्नुअघिसम्म उत्तरप्रदेश महिला भलिबल टिममा थिइन्। 

आलिया नेपालले पर्यटन वर्ष २०२० मनाइरहेकै बेला सगरमाथा आधार शिविर पुग्नेछिन्। यसले पेज थ्री पत्रकारितामार्फत् पनि नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ।चलचित्र धर्मा प्रोडक्सन र विवेक अग्निहोत्रीको डर प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो।

प्रकाशित मिति: : 2019-05-18 09:03:42

प्रतिकृया दिनुहोस्