कमल हसनले भने– स्वतन्त्र भारतको पहिलो हिन्दु आतंकवादी गोड्से

इन्डिया टुडे

अभिनेताबाट नेता बनेका बलिउडका चर्चित नायक कमल हसनले भारतमा जारी विधानसभाको निर्वाचन अगाडि एउटा विवादास्पद बयान दिएका छन्। भारतको दक्षिणी राज्य तमिलनाडुको अरावकुरिचीमा चुनावको बेला उनले दिएको बयानलाई लिएर यतिबेला माहौल ताँतिएको छ। 

उनले स्वतन्त्र भारतको पहिलो आतंकवादी एक हिन्दु भएको भन्दै नाथुराम गोड्सेको नाम सार्वजनिक गरेका थिए। उनले भारतमा यहीबाट आतंकवाद सुरु भएको दावी गर्दै भने, ‘मैले यसकारण यहाँ यो कुरा भनिरहेको छुइन् कि यो मुसलमान प्रभावित क्षेत्र हो। मेरो अगाडि गान्धीको प्रतिमा भएका कारण मैले यो कुरा भनेको हूँ।’

उनले गान्धीको हत्याको उत्तर खोज्न आफू आएको बताए। उनले भने, ‘म यस्तो भारतको कल्पना गर्छु, जहाँ सबैलाई समानताको आधारमा व्यवहार होस्।’

कमल हसन सन् २०१७ मा पनि हिन्दु कट्टरताको विरोधमा प्रतिक्रिया दिएर विवादमा तानिएका थिए।

उनको यो प्रतिक्रिया प्रति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आपत्ति जनाएको छ। पार्टीका प्रदेश अध्यक्ष तमिलसई सौदरराजनले ट्वीट गर्दै भनेका छन्, ‘यतिबेला गान्धीको हत्या र हिन्दु आतंकवादको मुद्धा उठाउनु निन्दनीय छ। तमिलनाडु उपचुनाव अगाडि अल्पसंख्यकको भोट प्राप्त गर्न यो मुद्धा उठाएर कमल हसनले आगो लगाउने काम गरेका छन्।

कमल हसनले २१ फेब्रुअरी २०१८ मा आफ्नो छुट्टै पार्टी स्थापना गरेका थिए। उनी विगत केही वर्षदेखि राज्यमा सत्तारुढ रहेको एआइएडीएमके र केन्द्रको भाजपा सरकारविरूद्ध आगो ओकल्दै आइरहेका छन्।

उनले २०२४ मा हुने लोकसभा निर्वाचनभन्दा ५ वर्ष अगाडि नै घोषणा–पत्र सार्वजनिक गरिसकेका छन्। भारतीय राजनीतिमा निर्वाचनभन्दा धेरै अगाडि घोषणा–पत्र सार्वजनिक भएको यो पहिलो घटना हो। उनको घोषणा–पत्रको नाम ‘कोवई–२०२४’ राखिएको छ।

प्रकाशित मिति: : 2019-05-13 14:16:20

प्रतिकृया दिनुहोस्