अमृता आचार्य अर्थात् 'गेम अफ थ्रोन्स' की इरी

विश्वकै सबैभन्दा लोकप्रिय टेलिभिजन धाराबाहिक ‘गेम अफ थ्रोन्स’ मा एकजना नेपालीले पनि अभिनय गरेकी थिइन्। यसो भन्दा धेरैलाई विश्वास नलाग्ला तर यो सत्य हो कि यस धारावाहिकको पहिलो र दोस्रो सिजनमा एक नेपाली कलाकार अमृता आचार्यले महत्वपूर्ण भूमिकामा अभिनय गरेकी थिइन्। 

अमृताले सन् २०११/१२ मा प्रसारण भएको पहिलो र दोस्रो श्रंखलामा नायिका डेनेरिसकी सुसारे इरीको भूमिका गरेकी थिइन् जसको मृत्यु दोस्रो श्रृंखलामा भएको थियो । 

अमृता नेपालमा जन्मेकी नेपालकी छोरी हुन्। उनी युक्रेनियन आमा र नेपाली बाबुकी सन्तान हुन्। सात वर्षको उमेरमै युक्रेन पुगेकी अमृता विभिन्न देश हुँदै अहिले नर्वे पुगेकी छिन्। उनका बाबु गणेश आचार्य नर्वेकै एक ख्यातिप्राप्त चिकित्सक हुन्।

गेम अफ थ्रोन्सकी इरी अर्थात् अमृता त्यस श्रृंखलाको सम्झना गर्दै भन्छिन्- 'त्यो सिरियलमा धेरै मानिस लामो समय टिक्दैनन्, एक वर्षमै उनीहरूको हत्या हुन्छ म भाग्यमानी थिएँ होला र दुई वर्ष टिकें।” उनी हाँस्दै अगाडि भन्छिन्- ‘गेम अफ थ्रोन्स’ आफ्नो लागि राम्रो शुरुआत बन्यो।' त्यसयता उनी बेलायती र नर्वेजियन टेलिभिजनमा एक स्थापित कलाकारका रूपमा छाएकी छिन्।

सन् २०११ देखि  एचबीओबाट प्रसारण हुन थालेको ‘गेम अफ थ्रोन्स’ अहिले आठौं सिजनमा चलिरहेको छ। यो नै यसको अन्तिम सिजन पनि हो। अन्तिम सिजनको पहिलो भाग एक करोड ७४ लाख दर्शकले एकसाथ हेरेका थिए  भनेपछि यो कति लोकप्रिय रहेछ, सजिलै अनुमान गर्न सकिन्छ।

‘गेम अफ थ्रोन्स’ मेनियाले अहिले संसार आक्रान्त छ। विश्वका कुनाकुनासम्म पनि यसको जादु चलेको छ। नेपाल पनि त्यो जादुबाट उम्कन सकेको छैन। 

 

 

प्रकाशित मिति: : 2019-04-28 04:45:19

प्रतिकृया दिनुहोस्