सेन्ट्रल जोन विजेता महिला भलिबल टिम नगदसहित सम्मानित (भिडियोसहित)

बिएल

सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ।

राजधानीमा मंगलबार पूर्वघोषित कार्यक्रमकाबीच सरकारले भलिबल टिमलाई जनही ३/३ लाख नगदले सम्मान गरेको हो। बंगलादेशमा सम्पन्न पहिलो संस्करणको उपाधि जित्ने टोलीमा रहेका १२ खेलाडी ३ प्रशिक्षक र १ व्यवस्थापकलाई अर्थमन्त्री डा. युवराज खतिवडा र युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्मालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

बंगलादेशमा ऐतिहासिक उपाधि जितेपछि सरकारले नेपाली टिमलाई जनही ३ लाखले पुरस्कृत गर्ने घोषणा गरेको थियो। प्रधानमन्त्रीले सागमा सहभागी हुने खेलाडीलाई विशेष सम्बोधन गर्ने भनिए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन सकेनन्। उनको सट्टा अर्थमन्त्री युवराज खतिवडाले विशेष सम्बोधन गरे।

गत कात्तिक २८ गते भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो।

महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो। यसअघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो।

महिला भलिबल टिमले सागमा पनि स्वर्ण जित्ने लक्ष्य राखेको छ। कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागमा सपदक जित्नेलाई पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्ने बताए।

यसअघि सागमा स्वर्ण जित्नेले ३ लाख, रजत जित्नेले २ लाख र कास्य जित्नेले १ लाख रुपैयाँ पुरस्कार दिने सरकारी घोषणा थियो।

प्रकाशित मिति: : 2019-11-26 12:41:18

प्रतिकृया दिनुहोस्