नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशियाली ब्याडमिन्टन महासंघको तत्वावधानमा संचालित योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज–२०१९ को खेलहरू बुधबारदेखि सुरु भएको छ।
पहिलो दिनको खेलमा दिपेश धामी र बिष्णु कटुवालले विजयी सुरुवात गरे। दिपेशले भारतका दीपक शर्मामाथि २१–१०, २१–१६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन्। बिष्णुले भुटानका निदुप दोर्जीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए। बिष्णुले २१–९, २१–४ को सहज जित निकाले।
अपेक्षा विपरित नेपाल नं. १ खेलाडी रत्नजित तामाङ्ग भने पराजित भए। तामाङ्ग थाईल्याण्डका अदुईराच नामकुलसँग २१–९, २१–४ अंकका साथ पराजित भए। अर्का नेपाली खेलाडी नवीन श्रेष्ठले भने प्रतिद्वन्द्धीबाट वाकओभर प्राप्त गर्दै दोश्रो चरणमा प्रवेश गरे। नवीनले भारतका अभिषेक यालगारबाट वाकओभर पाएका थिए।
अर्का खेलाडी विकास श्रेष्ठ र प्रफुल महर्जनले पनि आफूलाई खरो उतार्न सकेनन्। विकास इङ्गल्याण्डका वाङ्ग युह्वाङ्गसँग २१–१३ र २१–१४ ले तथा प्रफुल भारतका सिद्धार्थ ठाकुरसँग २१–१४, २१–१० ले पराजित भए।
यसैगरि अर्का खेलाडी साजनकृष्ण ताम्राकारले वाकओभर दिए। उनको प्रतिस्पर्धा भारतका किरणकुमार मेलकासँग तय थियो।
नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले पनि नेपालीको विश्वास कायम राख्न सकेनन्। दुबई अन्तर्राष्ट्रिय सिरिज र हालै मालदिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल दाहाल च्यालेञ्जमा दोश्रो बरियता प्राप्त रसियाका सर्जी सिरान्तसँग २१–१७, २१–१२ ले पराजित भए।
अन्य खेलाडी सुनिल जोशी र जीवन आचार्यले पनि नेपाली दर्शकलाई निरासनै प्रदान गरे। सुनिल अष्ट्रेलियाका खेलाडी केथ मार्क ईडिसनसँग २२–२०, २१–११ ले तथा जीवन भारतका सिली बर्मासँग २१–१२, २१–१३ ले पराजित भए।
महिला तर्फ पनि नेपाली खेलाडीको प्रदर्शन निराशाजनक नै र¥यो। नजिकै आइरहेको १३ औं दक्षिण एशियाली खेलकुदका लागि तयारीमा रहेका खेलाडीले बिदेशी खेलाडी सामू खुट्टा टेके। महिला युगलतर्फ अमिता गिरी र अनुमाया राईको जोडी भारतका कुहु गर्ग र अनुस्का पारिखसँग २१–१७, २१–८ ले, पुजा श्रेष्ठ र जेशिका गुरुङ्ग बंगलादेशका अक्तर सप्ला र अलिना सुल्तानसँग २१–९, २१–१४ ले, निता लम्साल र सीमा राजबंशीको जोडी भारतका मनिषा र रुतापर्ना पन्डासँग २१–१४, २१–१४ को समान अन्तरले तथा रशिला महर्जन र सीता राईको जोडी भारतकै अपर्ना बलान र त्रिशा जोलीसँग २१–१०, २१–१० को समान अन्तरले पराजित भए।
२५ हजार डलर पुरस्कार राशी रहेको च्यालेञ्जमा पुरुष तथा महिला एकल र युगल तथा मिश्रीत युगल गरि कूल ५ विधामा नेपाल लगायत २१ राष्ट्रका १ सय ४९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।