नेपाल र चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी

RSS

नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ ।सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा सहयोगी हुने विश्वास सो संयुक्त व्यक्तव्यमा गरिएको छ ।

वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)कार्यान्वयनमा जोड दिइएको छ ।नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमति भइसकेको छ । संयुक्त वक्तव्यमा उक्त सहमतिलाई उल्लेख गर्दै काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने पनि उल्लेख छ । केरुङ–काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय पनि संयुक्त व्यक्तव्यमा उल्लेख छ ।

दुबै देश एक अर्कोको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्न र एक अर्काको चिन्ता र हितको सामना गर्न सहमत भएका छन् । दुबै देश असल छिमेकी नीतिको पालना गर्ने र स्थिरता र विकासमा मिलेर अघि बढ्न सहमत भएको  व्यक्तव्यमा उल्लेख गरिएको छ ।

नेपाली पक्षले एक चीन नीति प्रतिको आफ्नो दृढतालाई दोहोराएको छ र ताइवान चिनियाँ क्षेत्रको एक अक्षम्य हिस्सा रहेको र तिब्बत मामला चीनको आन्तरिक मामला भएको जनाइएको छ । नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन नेपाल दृढ रहेको जनाइएको छ ।

त्यस्तै चिनियाँ पक्षले नेपालको स्वतन्त्रता, सम्प्रुभुता र क्षेत्रीय अखण्डतालाई अक्षुण राख्न नेपाल प्रति आफ्नो दृढ समर्थन दोहोराएको छ र स्वतन्त्र रुपमा नेपालको सामाजिक व्यवस्था र विकासको पथप्रति चीनको समर्थन र सम्मान व्यक्त गरेको छ ।

प्रकाशित मिति: : 2019-10-13 17:56:59

प्रतिकृया दिनुहोस्