लिभरपुल समर्थकको उद्दण्डताको मुद्धा उठ्यो, क्लबलाई कार्यवाही हुन सक्ने

बिएल

युरोपेली फुटबल महासंघ (युइएफए) ले गत बुधबार च्याम्पियन्स लिगमा ४–३ गोलअन्तरले साल्जवर्गलाई जितेको खेलमा लिभरपुलका समर्थकहरूले मैदानभित्र प्रवेश गरेर उद्दण्डता प्रदर्शन गरेको पुष्टी गरेको छ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा युवा समर्थक मैदान भित्र प्रवेश गरेको र उनीहरुले एन्डी रोबर्ट्सनको टिसर्ट तानेको बताइएको छ। एकजना समर्थक दोस्रो हाफमा मैदानको बीच भागमा पुगेको र सुरक्षाकर्मीले हटाउनु परेको बताइएको छ।

मेरीसाइड प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बेला महासंघले शुक्रबार यसको पुष्टी गर्दै लिभरपुललाई धारा १६ (२) अन्तर्गत अनुशाषन कार्यवाहीको सिफारिस गरेको छ। लिभरपुलका समर्थक खेललाई प्रभावित पार्न मैदानमा दौडिएको यो नै पहिलो घटना होइन। गत अगस्टमा युइएफए सुपर कपअन्तर्गत पेनाल्टी सुट–आउटमा चेल्सीलाई जितेको खेलमा पनि एक हुल लिभरपुल समर्थक मैदानमा प्रवेश गरेका थिए। यो घटनामा गोलकिपर आड्रियान घाइते भएका थिए।

त्यतिबेला लिभरपुल प्रशिक्षक जर्गेन क्लोपले भनेका थिए, ‘यसमा कुनै शंका छैन, हामी आफ्ना समर्थकलाई कति धेरै माया गर्छो तर उनीहरुले यो व्यवहार नत्याग्ने हो भने मेरो लागि यो सबैभन्दा खराब उदाहरण बन्ने छ। कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटीविरूद्ध खेलमा पनि यस्तै घटना भयो। यो खुसी मनाउने तरिका होइन।’

युएफएले साल्जवर्गविरूद्ध पनि आरोप लगाएको छ, उनीहरुको समर्थकले मोहम्मद सालाहलाई लक्षित गर्दै केही सामान फ्याँकेकोमा। दुबै टिमविरुद्धको मुद्धाको सुनवाई १७ अक्टुबरमा युएफएको अनुशाषन कमिटीले निर्णय गर्नेछ।

 

प्रकाशित मिति: : 2019-10-05 08:46:41

प्रतिकृया दिनुहोस्