काठमाडौंमा राष्ट्रपतिको सीको भ्रमण, लुम्बिनीको प्रवद्र्धन हुने विश्वास !

फाइल तस्बिर


चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु एक दिनअघि दिएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य हुने उल्लेख गर्नुभएकाले पनि लुम्बिनीप्रति आकर्षण थपिएको हो ।

राष्ट्रपति सीले बुद्ध धर्मको प्रचारप्रसार, प्रवद्र्धनसँगै लुम्बिनीको विकासमा चिनियाँ भूमिकाका विषयमा दिनुभएको सन्देशबाट पनि चिनियाँको नेपालमा अब प्रमुख गन्तव्य लुम्बिनी बन्नसक्ने बलियो सम्भावना देख्न सकिन्छ । राष्ट्रपति सीको नेपाल भ्रमण सिङ्गो मुलुकसँगै बुद्ध जन्मस्थल लुम्बिनीका लागि थप महत्वपूर्ण हुने देखिएको छ ।

यसको प्रमुख कारण करीब १६ सय वर्षअघि चिनियाँ महान् भिक्षु फाहियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेर संयुक्तरूपमा बौद्ध धर्मका शास्त्रपद अनुवाद गरेका भन्दै बुद्ध धर्मको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति सीले सन्देशमा उल्लेख गरेका छन् । उनको यस्तो सन्देशले नेपाल र चीनबीचको हजारौँ वर्ष पुरानो सम्बन्धको महत्वलाई थप उजागर गरेको स्पष्ट देखिन्छ ।

यसका साथै राष्ट्रपति सीले महान् भिक्षु हुएन साङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको वर्णन आफ्नो यात्रावृत्तान्त लेखेको समेत उल्लेख गर्नुभएको छ । उनले लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको र हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिले एकअर्काको देश भ्रमण गरेको स्मरण गरेका छन् । राष्ट्रपति सीले भ्रमण अघि दिनुभएको सन्देशमा चीन–नेपाल पहाड र नदीले जोडिएका युगौँदेखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेको छ।

चिनियाँ राष्ट्रपतिको आजदेखि शुरु हुने नेपाल भ्रमणले विशेष महत्व राख्ने भएकाले उनको भ्रमणको चर्चा उत्सर्गमा पुगेको हो । राष्ट्रपति सी चिनफिङले गर्ने राजकीय भ्रमण नेपालका लागि गर्वको विषय बनेको छ । यो भ्रमण नेपाल र चीन दुवै देशका समाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध थप अभिवृद्धि गर्न महत्वपूर्ण मानिएको छ ।

उनको यो सन्देशले चिनियाँका लागि पर्यटकीय, औद्योगिक र व्यावसायिक लगानीको प्रमुख छनोट नेपाल बन्ने अपेक्षासमेत गरिएको छ । प्रदेश नं ५ मा त्यसमा पनि लुम्बिनीप्रति चिनियाँको चासो बढ्दो छ । प्रदेश नं ५ को विकासका लागि चिनियाँको यस क्षेत्रमा भ्रमण र प्रदेशका विभिन्न तहका व्यक्तिको चीनमा भ्रमणका कार्यक्रम र अनुभव आदानप्रदान बढ्दो अवस्थामा रहेकाले पनि चिनियाँ यस क्षेत्रप्रति आकर्षित रहेको मान्न सकिन्छ ।

प्रदेश सरकारको तर्फबाट करीब दुई महीनाअघि मात्र चिनियाँ सरकारको निमन्त्रणामा विभिन्न प्रान्तको भ्रमणबाट फर्किएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँसँगको छलफल र अन्तक्र्रियामा उनीहरुको लुम्बिनीमा लगानी गर्न निकै आकर्षित रहेको बताए ।

उनले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा यस क्षेत्रमा होटल, व्यवसायमा चिनियाँ लगानी भित्रिने र यसका लागि प्रदेश सरकारको तर्फबाट लगानीको वातावरणका लागि आवश्यक वातावरण निर्माण गरिने बताए । प्रदेश सरकारले उनीहरुलाई लुम्बिनी क्षेत्रमा धार्मिक, पर्यटन प्रवद्र्धनमा लगानी बढाउन आह्वान गरेको उनले बताए ।

लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकको तथ्याङ्क हरेक वर्ष बढ्दो छ । चिनियाँ बुद्ध धर्म र लुम्बिनीप्रति निकै नै प्रभावित भएकाले उनीहरुको गन्तव्य लुम्बिनी हुने गरेको छ । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म १०५ देशका एक लाख नौ हजार ८९ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यसमध्ये चिनियाँको सङ्ख्या १३ हजार ७९५ रहेको छ । यो सङ्ख्या लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटकको तथ्याङ्कमा चौथो स्थानमा रहेको देखिन्छ ।

लुम्बिनी आउने पर्यटकको सङ्ख्या वार्षिक करीब २४ हजारभन्दा बढी छ । पर्यटक आगमनका हिसाबले यो सङ्ख्या तेस्रो वा चौथो स्थानमा रहे पनि चिनियाँ पर्यटकको खर्च गर्ने क्षमता बढी रहने गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इञ्जिनीयर सरोज भट्टराई बताए।

लुम्बिनीको विकासका लागि चिनियाँको चासो बढ्दै गएको छ तर सरकारका तर्फबाट समन्वय र कार्यान्वयमा अलमल जस्तो अवस्थाले चिनियाँ लगानी सोचे जस्तो अझै भित्रिन नसकेको उनको बुझाइ छ ।

सीको नेपाल भ्रमण र यसअघि उहाँले दिनुभएको सन्देशमा लुम्बिनीको महत्वमा देखाउनुभएको चासोले लुम्बिनीले पर्यटन विकासमा ठूलो उपलब्धि हासिल गरेको बताए ।

नेपाल भ्रमणअघि राष्ट्रपति सीले दिनुभएको सन्देशमा चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दै र अझ बढी चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्ने भ्रमण वर्ष २०२० प्रदेश नं ५ का सहसंयोजक पर्यटन व्यवसायी माधव नेपाल बताए ।

ठूला र शक्तिशाली राष्ट्रका राष्ट्रपतिबाट भ्रमण वर्षमा आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने सन्देश दिनुले नै भ्रमण वर्षका लागि सुखद् र सकारात्मक भएको उनको भनाइ छ । योसँगै लुम्बिनी प्रति राष्ट्रपति सीको सन्देशले आगामी दिनमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सुखद् हुने अपेक्षा गर्न सकिने सहसंयोजक नेपाल बताए ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा अब हामीले लगानी गर्ने र बाह्य लगानी भित्र्याउने र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता रहेको भन्दै वातावरण बन्नसकेमा लगानीको कुनै समस्या उनले बताएका छन् ।

नेपालको उत्तरी छिमकी देश चीनका राष्ट्रपतिको आजदेखि हुने नेपाल भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउनेसँगै नेपालको आर्थिक विकास, बुद्ध धर्मको प्रचारप्रसार भई यहाँको पर्यटन प्रवद्र्धनमा यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: : 2019-10-12 14:46:39

प्रतिकृया दिनुहोस्