स्वागत गेटमा नारा: ‘सर्वोच्च शिखर सगरमाथा जस्तै उचा नेपाल चीन मित्रता’ !

बिएल

नेपालको राजकीय भ्रमणमा आज आउन लागेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वागतको भव्य तयारी गरिएको उल्लेख गर्दै मुलुक विकासको मार्गलाई तीव्रता दिँदै अगाडि बढिरहेका बेला हुन लागेको भ्रमण ऐतिहासिक हुने विचार व्यक्त गरेका छन् ।

आम नोपलीको आशाअनुसार नै भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण परियोजनामा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।अहिले भारतमा रहेका राष्ट्रपति सी विशेष विमानबाट आजै त्रिभुवन विमानस्थलमा अवतरण गर्दै छन् । उनले आजै नेपाली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने उनको सम्मानमा होटल सोल्टीमा राजकीय भोजको आयोजना गरिएको छ ।

आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक वार्ता हुनेछ । उनिहरुको समुपस्थितिमा विभिन्न विषयमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । राजकीय भ्रमणका क्रममा उहाँले विभिन्न राजनीतिक नेतासँग शिष्टाचार भेट गर्नेछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरण गर्ने बताएका छन्।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँमा भव्य तयारी गरिएको छ । सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ भने विदेशी विशिष्ट पाहुनाको उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

यसरी सिँगारिएको छ काठमाडौँ

‘सर्वोच्च शिखर सगरमाथा जस्तै उचा नेपाल चीन मित्रता’, ‘नेपाल चीन मित्रता विशाल गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ ।’ चिटिक्क सिँगारिएको काठमाडौँको सडकमा बनाइएको विभिन्न स्वागत गेटमा उक्त नारा लेखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको छ । ढकमक्क फुलेको फूलले विमानस्थलको शोभा नै बढाइदिएको छ । विमानस्थलकै मूल गेटमा उनको स्वागतका लागि स्वागत द्वार निर्माण गरिएको छ ।

तीनकुने पार्कलाई फूलको बगैँचाले सजाइएको छ । स्वागत द्वारको दुई छेउमा नेपाल र चिनियाँ राष्ट्रपतिको फोटो राखिएको छ । माथिल्लो भागमा पशुपतिनाथ, स्वयम्भूको तस्वीर छ । डिस्प्ले बोर्डमा पाटे बाघ, गैँडा, पाण्डाका तस्वीर छिनछिनमा देख्न सकिन्छ ।

नेपालका राष्ट्रपति भण्डारी चीनको भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँग भएको भेटघाट, उनको स्वागत र सम्मान गरिएका सुन्दर तस्वीर प्रदर्शनमा छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसँग हात मिलाउँदै गरेका फोटो पनि छ । 

लुम्बिनीको मायादेवी मन्दिर, पशुपतिनाथ, स्वयम्भू, जानकी मन्दिर, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी, फेवातालको तस्वीर प्रदर्शनमा राखिएको छ । सडकको दायाँबायाँ खम्बामा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर लहरै राखिएको छ । ठाउँठाउँमा नेपाली र चिनियाँ झण्डा प्रदर्शन गरिएको छ । सडकका विभिन्न क्षेत्रमा फ्लेक्समा नेपालका सुन्दर ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय क्षेत्रको फोटो राखेर आकर्षक बनाइएको छ ।

काठमाडौँको माइतीघर झिलिमिली बनाइएको छ । माइतीघर मण्डल रङरोगन गरी सुन्दर बनाइएको छ । सडकहरु चिल्ला पारिएका छन् । ट्राफिक सङ्केतलाई दुरुस्त पारिएको छ । 

प्रकाशित मिति: : 2019-10-12 11:24:01

प्रतिकृया दिनुहोस्