यसरी सुरु भएको थियो एकदिवसीय क्रिकेट (भिडियो सहित)

Getty Images

बिएल–विश्व कप क्रिकेट विशेष

अस्ट्रेलियाविरूद्ध घरेलु टेस्ट शृंखला एसेसमा नराम्ररी पराजित भएपछि इङ्ल्याण्डले सन् १९७० मा ठूलो निर्णय लियो । उसले अस्ट्रेलियामा आयोजना हुन लागेको ७ टेस्टको अघिल्लो शृंखलाका लागि नयाँ टोलीको छनोट गर्यो ।

र, नेतृत्व सुम्पियो, पाका उमेरका रे इलिङवर्थलाई । तर, इलिङवर्थको नेतृत्वमा इङ्लिस टोली अस्ट्रेलिया पुग्दा नपुग्दै यसको यति ठूलो आलोचना भयो । अस्ट्रेलियाका छनोटकर्ता तथा पूर्व टेस्ट क्रिकेटर निल हार्वेले ‘वाहियात’ भन्दै इङ्लिस टोलीको कडा शब्दमा आलोचना गरे ।

अझ, कतिले इलिङवर्थको टोलीलाई बुढो सिपाई (ड्याड्स आर्मी) को संज्ञा दिए । त्यतिबेला इङ्लिस टोलीमाथि आरोप लाग्नुको कारण थियो, टोलीका प्रायः सबै खेलाडीको औसत आयु ३० बर्षभन्दा माथि रहनु । 

तर रमाइलो कुरा, ७ टेस्टको शृंखला २–० ले जित्दै इलिङवर्थले सनसनी मच्चाए । यो शृंखला अहिले पनि अन्तर्राष्ट्रिय क्रिकेटका लागि धेरै कारण यादगार मानिन्छ । त्यसमा पनि मेलबर्नको तेस्रो टेस्ट विशेष कारण यादगार छ ।

मेलबर्न टेस्ट तीन दिन लगातार वर्षाका कारण प्रभावित बन्न पुगेपछि त्यहाँ उपस्थित दर्शकले आयोजकसमक्ष टिकटबापत खर्चिएको पैसा फर्काउनु पर्ने माग राख्दै चर्को हुटिङ गरे । जसका कारण इङ्ल्याण्ड र अस्ट्रेलियाली क्रिकेट बोर्डका पदाधिकारी एकदिने क्रिकेट खेलाउन बाध्य भए ।

सन् १९७१ जनवरी ५ तारिख मेलबर्नमा सम्पन्न त्यही एकदिने खेल अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो एकदिवसीय खेलका रुपमा परिचित छ । ४६ हजार ६ जना प्रत्यक्षदर्शी समावेश रहेको पहिलो एकदिवसीय खेल अस्ट्रेलियाले ५ विकेटले जित्यो ।

मेलबर्नमा सम्पन्न पहिलो एकदिवसीय खेलको सफलतापछि इङ्ल्याण्डले आफ्नो देशमा सन्डे लिगको रूपमा एकदिवसीय क्रिकेटको परिक्षण गर्यो । यसमा पनि सफलता हात लागेपछि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले सन् १९७५ मा पहिलो पल्ट विश्वकप क्रिकेट आयोजना गर्ने जोखिम उठायो ।

पहिलो विश्वकपको प्रायोजन बेलायतको प्रुडेन्सियल फाइनान्स कम्पनीले गरेको थियो । त्यसैले पहिलो विश्वकपको नाम नै यही कम्पनीको नामबाट रहन गयो ‘प्रुडेन्सियल कप’ ।

प्रकाशित मिति: : 2019-05-28 06:36:42

प्रतिकृया दिनुहोस्