पहिलो ओलम्पिक खेल्ने नेपाली बक्सर (भिडियो रिपोर्टसहित)

बिएल

ती दिन

सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि मलेसियामा ठूलो हाहाकार मच्चियो। आर्थिक जर्जरताले यहाँका मान्छे धमाधम मर्न थाले।

यो अवस्था रोक्न बेलायती सरकारले नयाँ निर्णय लियो, मलेसियामा रहेको टिन तथा रबर फ्याक्ट्रीमा लगानी गर्ने।

तीन वर्षको प्रयासपछि मलेसियाको आर्थिक अवस्थामा केही सुधारको लक्षण देखियो। तर, त्यही नै बेला कम्युनिस्ट पार्टीका गुरिल्लाहरूको संगठन ‘मलायन नेसनल लिबरेसन आर्मी’ ले १६ जुन १९४८ मा युरोपका तीन वृक्षरोपण कार्यक्रम पदाधिकारीको पेराकस्थित सुन्गाइँ सिपुटमा हत्या गर्यो।

घटनाबाट अतालिएको बेलायतले कम्युनिस्ट गुरिल्ला तह लगाउन सेनामा थप आर्मी भर्ती गर्ने निर्णय गर्यो।

यति नै बेला स्याङ्जा मनकामना गाविसका एक अधबैंसे ठिटो केशबहादुर थापा आफ्नो पाँचवर्षे छोरासहित परिवारलाई छोडेर बेलायती सेनामा भर्ना भए।

वास्तवमा सन् १९६४ मा टोकियो ओलम्पिक खेल्ने पहिलो नेपाली बक्सर नामसिंह थापाको कहानी यहीँबाट सुरु हुन्छ।

केशबहादुर ‘सेकेन्ड सिक्स जीआर’ मा भर्ना हुन मलेसियाको पेराक इपो पुग्दा नामसिंह दुधे बालक थिए।

सामान्यतया बेलायती सेनामा प्रवेश गरेको १५ बर्षको अवधिभित्र सेनाले एकपल्ट आफ्नो परिवारलाई आफूसँगै ल्याउने अनुमति दिन्छ। तर, केशवबहादुरसँग ३ बर्ष छोटो अवधिमा एउटा घटना भयो।

बेलायती सेनाले श्रीमतीसहित आठवर्षे छोरा नामसिंहलाई मलेसिया ल्याउने स्वीकृति प्रदान गर्यो।

यतिबेला थापा परिवारको आर्थिक अवस्था सन्तोषजनक थिएन। त्यसैले केशवबहादुर चाहन्थे, छोरालाई आर्मी क्याम्पमै राखेर पढाउने।

नभन्दै उनले त्यो सुविधा पनि पाए।

केशवको परिवार ३ बर्ष पेराक इपोमा बसेपछि घरायसी कामले श्रीमति नेपाल फर्किइन्।

१२ वर्षे फुच्चे नामसिंहको यो पहिलो बिछोड थियो, आमासँग। फेरि पल्टनमा अर्को पनि नियम थियो, सिपाहीका छोराछोरीले ३ बर्षमात्र आर्मी स्कुलमा पढ्न पाउने।

नामसिंहले १४ बर्षको उमेरसम्म पेराक इपोस्थित गोर्खा चिल्ड्रेन स्कुलमा बसेर पढ्ने सुविधा पाए। यसपछि उनको बुवासँग पनि बिछोड भयो। उनलाई ट्रेनिङका लागि सुंगेई पटानीस्थित ब्रिगेड अफ गोर्खाजको ब्वाइज कम्पनीमा लगियो।

सुरुका दिन ट्रेनिङमा रहँदा उनलाई जेलमा बसे जस्तो लाग्थ्यो। आमा–बुबाको साथ नपाउँदा उनी रातभरि रुन्थे।

यही ट्रेनिङ गर्ने क्रममा उनी बक्सर भए। ब्वाइज कम्पनीको नियम थियो, आर्मी ट्रेनिङ र अध्ययनसँगै अनिवार्य खेल्नुपर्ने। २ बजे दिउँसो सुतेपछि साढे ३ बजे खेल मैदानमा पुगेन भने ठूलै सजाय पाउँथ्यो। त्यतिबेला ब्वाइज कम्पनीमा बास्केटबल, क्रिकेट, फुटबल, रनिङ र बक्सिङ अनिवार्य थियो।

नामसिंहलाई फुटबल निकै मजा लाग्थ्यो। उनी सेन्टर हाफका राम्रै खेलाडीमा गनिन्थे। यहाँ उनको दैनिकी नै थियो, बिहान करिब साढे ४ बजे उठ्ने र १० किलोमिटर दौडिने। ‘हामीलाई शारीरिक रूपमा बलियो बन्न सिकाइएको थियो। प्रोटिनयुक्त खाना खानुपथ्र्यो। माछा खाँदाखाँदै हैरान,’ उनी सम्झन्छन्।

सुरुका दिन बक्सिङ ट्रेनिङमा जाँदा उनलाई अत्यास लाग्थ्यो।

नलागोस् पनि किन?

 

कुटाइ खाँदा कहिले नाक भाँचिने, कहिले मुख फुट्ने। उनीलगायत क्याम्पमा रहेका अन्य नेपालीलाई बक्सिङ सिकाउन एकजना सिनियर बक्सर मेघबहादुर राईलाई तैनाथ गरिएको थियो।

कुटाइ खाँदाखाँदा नामसिंह यति जब्बर भए, ४० केजीका यी लुरे सन् १९६० मा पेनाङमा आयोजना भएको बक्सिङ प्रतियोगिताका लागि आर्मी टिमको ‘मस्क्युटो वेट’ मै छनोट भए। त्यति बेला मलेसियमा वर्षको अन्त्यतिर बक्सिङको ठूलो प्रतियोगिता आयोजना हुन्थ्यो, जसमा स्थानीय क्लबका बक्सरदेखि आर्मी टिम सहभागी हुन्थे।

यही प्रतियोगितामा पहिलोपल्ट भाग लिन पेनाङ जाँदा एउटा रोचक घटना भएछ। नामसिंहभन्दा एक वर्ष सिनियर पुरन गुरुङ पनि प्रतियोगितामा सहभागी थिए। उनी यति बलियो बक्सर थिए, प्रतियोगिताकै क्रममा उनले पहिलो बाउटमै स्थानीय एक मलायाको करङ भाँचिदिए।

दुर्भाग्य! उपचारका लागि अस्पताल लैजाँदै गर्दा त्यो मलायाको बाटोमै निधन भयो।

यसपछि के चाहियो!

सबै विपक्षी बक्सर आर्मीका खेलाडी भनेपछि त्यत्तिकै थुरथुर। गोर्खाली बक्सर भनेपछि भिड्नै डराउने।

त्यो वर्ष १० आर्मी बक्सर सहभागी प्रतियोगितामा ८ जनाले स्वर्ण जिते। जसमा नामसिंहको पनि नाम थियो। उनले अंकको आधारमा फाइनलमा मलाया बक्सरलाई हराएका थिए।

अर्को वर्ष यही प्रतियोगिताका लागि पुनः पेनाङ पुग्दा पुरन गुरुङको खेल हेर्न आएका स्थानीय दर्शक चिच्याए,‘नखेल योसँग। मार्छ यसले।’ त्यति बेला बक्सिङ हेर्न पेनाङमा ठूलो भीड लाग्थ्यो।

पहिलो वर्ष नै नामसिंहको प्रदर्शन राम्रो भयो। यसपछि आर्मीले जुनियर प्रतियोगिताका लागि उनलाई सिंङ्गापुर खेल्न पठाउने निधो गर्यो।

त्यति बेला सिङ्गापुर मलेसियाबाट छुट्टिसकेको थिएन। आर्मी गाडीमा मलेसियाको अन्तिम बोर्डर जोहरबारु हुँदै सिङ्गापुर प्रवेश गर्न उनलाई सात घन्टा लाग्यो।

‘थाकेर लोत थिए। तरपनि दुई घन्टाको विश्रामपछि रिङमा पुगिसकेको थिएँ,’ उनी घटना सम्झन्छन्। उनको समूह ‘मस्क्युटो’ नै थियो। उनले सिङ्गापुरमा स्थानीय मद्रासी खेलाडीलाई हराएका थिए।

मलेसियाको आर्मी क्याम्पमा रहुन्जेल बक्सिङले उनको पिछा छोडेन। सन् १९६० मा कम्युनिस्ट गुरिल्लासँगको युद्ध समाप्त भयो। त्यसको दुई वर्षपछि उनको रेजिमेन्ट (सिक्स्थ क्विन एलिजाबेथ अन गोर्खा राइफल) हङकङ फर्किने निधो भयो।

उनी पनि आफ्नो रेजिमेन्टसँगै हङकङ फर्किए। सन् १९६२ को अक्टुवरमा हङकङको काइताक विमानस्थलमा पहिलोपल्ट अवतरण गर्दा उनी निकै खुसी थिए, अब बक्सिङ खेल्नु पर्दैन भनेर।

तर, हङकङमा अर्को संयोग जुर्यो। आर्मी क्याम्प प्रवेश गरेको भोलिपल्टै उनले चाल पाए, त्यहाँ त मलेसियामा भन्दा उत्कृष्ट बक्सिङ प्रशिक्षक दिनहुँ अभ्यास गराउँदा रहेछन्।

 

बिलि टिंगल, अस्ट्रेलियाका पूर्व च्याम्पियन। भोलेन्टियरका रूपमा बक्सिङ सिकाउन हङकङ बसेका रहेछन्। टिंगललाई पनि दोस्रो दिन नै थाहा भयो, मलेसियाबाट आएको समूहमा नामसिंह र रामप्रसाद गुरुङ राम्रा बक्सर छन् भनेर। यसपछि उनको बक्सिङ यात्राले झन् निरन्तरता पायो।

‘मलेसियामा सामान्य सिकाइ हुन्थ्यो। हङकङमा पुरै व्यवसायिक,’ उनी भन्छन्। हङकङमा स्टाफ सार्जन बुर्गसले शारीरिक कसरत गराउँथे। अभ्यास यति कडा हुन्थ्यो, बिहान ७ मा सुरु भएर १२ बजे सकिन्थ्यो। बक्सरहरूले ब्रेक–फास्टपछि फेरि ३ देखि ६ बजेसम्म अभ्यास गर्नुपथ्र्यो।

‘नाडी बलियो होस् भनेर काठको ठूलो खाँबा फ्याँक्थे। त्यो समाउनुपथ्र्यो,’ उनले अनुभव सुनाए।

सुरुका केही महिना हात सुन्निएर राम्रोसँग सुत्न पनि सकेनन्, उनी। हङकङमा नेभी, एयरफोर्स र स्थल सेना गरी तीनवटै रेजिमेन्टका बक्सरबीच वार्षिक भिडन्त हुन्थ्यो। त्यतिबेला नामसिंह फ्लाइवेट समूहमा उक्लिसकेका थिए।

यो स्पर्धामा पनि आफ्नो समूहमा उत्कृष्ट ठहरिए। यसपछि उनलाई हङकङ आर्मीबाट प्रतिनिधित्व गराउँदै सन् १९६४ मा सिङ्गापुरमा आयोजना भएको ‘फार इस्टल्यान्ड फोर्सेस बक्सिङ च्याम्पियनसिप’ मा खेल्न पठाइयो।

त्यहाँ उनको भिड्न्त भएको थियो, ‘वान रोयल ग्रिन ज्याकेट’ का एक गोरासँग। गोरा यति बलियो, उसँग भिड्नु भनेकै मुर्खता थियो। त्यसमा पनि ऊ आफ्नौ तौल ३ केजी घटाएर फ्लाइवेटमा खेल्न आएको थियो। ‘हम्मे–हम्मे नै बनायो मोराले। पछि अंकको आधारमा जितेँ’ उनी सम्झन्छन्।

सिङ्गापुरबाट फर्किएको करिब तीन महिनापछि मेजर जेएस किनले अभ्यासकै क्रममा उनलाई भनेछन्– नेपालले ओलम्पिकमा भाग लिँदैछ। तिमीहरू खेल्न जानुपर्छ।
त्यति बेला नामसिंहलाई ओलम्पिक भनेको थाहा थिएन। सोचेछन्, यहीँ खेलिरहेको जस्तै त होला नि। तर, गोराले ट्रेनिङमा यति पेलायो, अन्त्यमा आन्तरिक प्रतिस्पर्धापछि नामसिंहसहित ४ बक्सर टोकियो ओलम्पिकका लागि छनोट भए। त्यतिबेला प्रशिक्षक टिंगल नामसिंहको मेहनतबाट निकै प्रभावित थिए। भन्थे–तेरो राम्रो सम्भावना छ।

 

नामसिंहसहित ४ नेपाली बक्सर हङकङबाट ओलम्पिक खेल्न टोकियो उडेको घटना कम रोचक छैन।

उनीहरू आफ्नै ‘रोयल एयर फोर्स’ कार्गो हर्कुलसमा सामानझै खाँदिएर जापान लागेका थिए। जापान जाने क्रममा कार्गो प्लेन तेल हाल्न भियतनामको साइकोनस्थित ओकिनावा एयरवेसमा ६ घन्टा रोकिएको थियो। उनीहरू आर्मीकै पहिरनमा थिए। यी चार बक्सरसँगै ओलम्पिकमा भाग लिएका मेजर जेएस किन, सर्जेन्ट बुर्गेस र डब्लुइ टिंगेल भने छुट्टै एयरलाइन्स पक्रेर जापान पुगेका थिए मेजर किन बक्सिङ टोलीका व्यवस्थापक, बुर्गेस ट्रेनर र टिंगेल प्रशिक्षकका रूपमा टोकियो ओलम्पिकमा सहभागी थिए।

‘ओकिनावा एयरवेसमा आएपछि कपडा फेरेर जापान लाग्यौ’, उनी भन्छन्।

नेपाली बक्सरलाई ओलम्पिक खेल्न हङकङमै ब्लेजर र कपडा पठाइएको थियो। त्यहीँ उनीहरूको नाप अनुसारको पोसाक सिलाउने काम भयो। नामसिंहले नेपालबाट ओलम्पिकमा दौडिन गएका म्याराथन धावक गंगाबहादुर थापामगर र भूपेन्द्र सिलवाललाई पहिलोपल्ट ओलम्पिक भिलेजमा देखेका थिए।

नामसिंहले पहिलो खेल नै बाइ पाए। तर, अन्तिम १६ को भिडन्तमा उनी अमेरिकी बक्सर रोबर्ट जोन कार्मोडीसँग आरएसीका आधारमा पराजित भए। कार्मोडी अमेरिकाका चर्चित बक्सर जोए फ्रेजरका निकट साथी थिए। उनले टोकियो ओलम्पिकको फ्लाइवेटतर्फ कास्य जितेका थिए। पछि भियतनाम युद्धमा साइगोनमा उनको हत्या भयो।

 

‘त्यो दिन मेरो दुर्भाग्य। पहिलो बाउटमा उनलाइ रिङमा चेपेको थिएँ तर राम्रो छल्ने रहेछ। पुरै थकायो मोराले। दोस्रो बाउटमा मलाई लडायो,’ उनी सम्झन्छन्।

टोकियो ओलम्पिकमा सबैभन्दा राम्रो प्रदर्शन ओमप्रसाद पुनको भयो। उनले लाइटवेल्टरवेटमा इथियोपियाका गुइब्रे जियोग्रिसलाई पहिलो स्पर्धामा हराएका थिए।

दुर्भाग्य! दोस्रो स्पर्धामा उनी ट्युनेसियाका गाहिल्हयासँग पराजित भए। नेपालले आफ्नो पहिलो ओलम्पिक सहभागितामा कुनै बक्सरले पदक जित्न सकेन। तर, आफ्ना खेलाडीको प्रदर्शनबाट प्रशिक्षक टिंगल भने खुसी देखिन्थे।

खेल हारे पनि नेपालबाट गएका पदाधिकारीले उनीहरूलई दुःखी नहुन आग्रह गरेका थिए। र, भनेका थिए, ‘अर्को ओलम्पिकका लागि ट्रेनिङ गर्नू।’

तर, नेपालले अर्को ओलम्पिकमा भाग लिएन।

प्रकाशित मिति: : 2019-05-18 07:36:33

प्रतिकृया दिनुहोस्