ती दिन
२०२३ मंसिर पहिलो साता नृपेन्द्रसिंह केसी निकै अलमलमा थिए। नेपालले त्यो साल कम्बोडियाको राजधानी नोउ पेनमा ‘गेम्स अफ दि न्यू इमर्जिङ फोर्सेस (ग्यानेफो) मा भाग लिनुपर्ने थियो।
तर, राजनीतिक चलखेल र विभिन्न कारण प्रतियोगिता सुरु हुन केही दिन बाँकी हुँदा नेपाली टोलीले त्यहाँ जाने स्वीकृति पाएन।
त्यो साल कम्बोडियामा पहिलो एसियन ग्यानेफो र बैंककमा एसियन गेम हुँदै थियो। ग्यानेफोको स्थापना २०१९ सालमा चीनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई कडा टक्कर दिने उद्देश्यले गरेको थियो।
चीनलगायत विश्वका अन्य कम्युनिस्ट राष्ट्रको आरोप थियो, आइओसी अमेरिकी र उनीहरूको गठबन्धन देशको पिठ्युँ हो। त्यसैले ओलम्पिक प्रतियोगिता बहिस्कार गर्नुपर्छ।
२००८ सालमा चीन पहिलो पल्ट ओलम्पिकमा भाग लिँदै थियो। फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना भएको ओलम्पिकमा चीनबाट ४० खेलाडी सहभागी थिए।
तर आइओसीले यो ओलम्पिकमा चीनले आपनो अभिन्न अंग मान्दै आएको ताइवानलाई पनि सहभागी गरायो। यसबाट आगो भएको चीनले त्यसपछि ओलम्पिक नै बहिस्कार गर्ने निर्णय गर्यो।
ओलम्पिकलाई टक्कर दिन २०२० सालमा इन्डोनेसियाको राजधानी जकार्तामा पहिलो ग्यानेफो प्रतियोगितामा एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका गरी ५१ देशका २७ सय खेलाडीले भाग लिएका थिए।
त्यतिबेला नेपाल सहभागी भएन। तर, २०२३ सालमा दोस्रो ग्यानेफो, जसलाई पहिलो एसियन ग्यानेफोको नाम दिइएको थियो, आयोजना हुँदा नेपाललगायत २७ एसियन राष्ट्र समावेश थिए।
त्यो प्रतियोगिता पनि एसियन गेमलाई ‘काउन्टर’ दिन आयोजना हुँदै थियो। दुबै प्रतियोगिताका लागि नेपालले छुट्टाछुट्टै खेलाडी छनोट गरेको थियो। एसियन गेमका लागि खासै समस्या भएन।
तर, ग्यानेफोका लागि खेलाडी पठाउने बेला विवाद चुलियो। त्यसपछि नेपालस्थित चिनियाँ राजदूत सिधै दरबार गए। साँझ ७ बजे खबर आयो– ‘ल खेल्न जानू। तर जागिरवाला बाहेक।’
त्यतिबेला नृपेन्द्र अखिल नेपाल टेबल टेनिस संघका महासचिव र प्रशिक्षक थिए। त्यसैले तत्कालीन सरकारबाट ग्यानेफोमा भाग लिने स्वीकृति पाएपछि उनी राती नै बसन्तपुरस्थित पुरानो दरबारमा अवस्थित कौसिखानामा पैसा साट्न पुगे।
त्यतिबेला विदेशी मुद्रा सटही त्यहाँमात्र हुन्थ्यो। १ अमेरिकी डलर बराबर ७ रुपैयाँ ३३ पैसा।
नेपाली खेलाडीलाई भोलीपल्टै कम्बोडिया उड्नुपर्ने थियो। खेलाडी तथा पदाधिकारी सबैका लागि चिनियाँ सरकारले टिकट उपलब्ध गराएको थियो। नृपेन्द्र आफ्नो टेबलटेनिस टोलीका साथै एथ्लेटिक्स र व्याडमिन्टन गरी २६ सदस्यीय नेपाली टोलीमा रहँदै त्रिभुवन विमानस्थलबाट कम्बोडियाका लागि उडे।
तर, काठमाडौंबाट भारतको कोलकाता हुँदै हङकङको बाटोबाट कम्बोडिया पुग्नुपर्ने प्लेन ठूलो हावाहुन्डरीका कारण बंगलादेशको चटगाउँमा आकस्मिक अवतरण गर्न बाध्य भयो।
काठमाडौंमा त्यत्रो लफडापछि बल्ल कम्बोडिया हिँडेको टोली यसरी बीचैमा अलपत्र पर्यो। तर, एयरलाइन्सले नै नेपाली खेलाडीलाई चटगाउँस्थित स्वपन होटलमा राख्ने व्यवस्था मिलायो।
नेपाली खेलाडी आरामका लागि होटल पुग्दा होटल कर्मचारी मात्र होइन, स्थानीय बंगाली पनि दंग परे। कारण, त्यतिबेलासम्म त्यो होटलमा कुनै महिला बस्न आएका रहेनछन्।
‘लामो दाह्री भएका होटलेहरू अचम्म मानेर हाम्रा महिला खेलाडी हेर्न आउँथे,’ ५२ वर्ष पुरानो घटना सम्झन्छन्, नृपेन्द्र।
नृपेन्द्रलाई पुराना खेलाडीहरू कन्हैयाको नामले अझै चिन्छन्। नेपाली टोलीलाई त्यतिबेला कम्बोडिया पुग्न दुई दिन लागेको थियो। तर, थकानका बीच नोउ पेनको अन्तर्राष्ट्रिय विमानस्थल उत्रँदा सबै खेलाडी दंग थिए। कम्बोडिया सरकारले खेलाडीको भव्य स्वागत गर्यो।
सबै राष्ट्रका खेल प्रमुखलाई विमानस्थलदेखि गाडी चढ्ने ठाउँसम्मै रातो कार्पेट विछयाइएको थियो। त्यतिबेला नेपाली टोलीका प्रमुख थिए, राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य राजबहादुर सिंह, जो आरबी राजाको नामले नेपाली खेलकुदमा चिनिन्छन्। २०४६ सालपछि उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पनि भए।
प्रतियोगिताका लागि कम्बोडियाले नोउ पेन सहरको मध्यभागमा एउटा भव्य ‘खेलग्राम’ नै तयार गरेको थियो। त्यतिबेला राजा नरोद्धम सिहानुक कम्बोडियाली जनताका प्रिय थिए।
नृपेन्द्रको सिहानुकसँग पहिलो देखादेख यही प्रतियोगितामा भएको थियो, जब सिहानुक उद्घाटनका लागि आएका थिए। होचा तर हँसिला।
सिहानुकले प्रतियोगिता चलिरहँदा सबै राष्ट्रका पदाधिकारीका लागि आफ्नो दरबारमा पार्टी आयोजना गरेका थिए। त्यतिबेला आरबीसँगै नृपेन्द्रले पनि राजा सिहानुकको रिसेप्सनमा भाग लिए।
‘निम्तालुलाई स्वागत गर्न सिहानुक आफैं गेटमा उभिनुभएको थियो। समान्य शिष्टाचारपछि हामी पार्टीमा सहभागी भइहाल्यौं। फुच्चे बोतलमा बियर ओसारेको ओसार्यैं। ३ वटा खायो कि ढल्ने।
अल्कोहलको मात्रा नै ७५ प्रतिशत,’ कन्हैया हाँस्दै भन्छन्। सिहानुकसँग नृपेन्द्रको दोस्रो भेट भने चीनमा भयो, जतिबेला अमेरिकी विदेश सचिव हेनरी किसिंगर ‘पिङपङ डिप्लोमेसी’ मार्फत अमेरिका–चीन सम्बन्ध सुधारमा सक्रिय थिए।
२०२७ सालमा चीनले पहिलो अफ्रो–एसियन टेबलटेनिस प्रतियोगिता आयोजना गर्दै थियो। त्यतिबेला नेपाल पनि प्रतियोगिताको आयोजक राष्ट्र थियो। यो प्रतियोगिताका लागि नेपाली टेबलटेनिस टोली चीन पुग्दा नृपेन्द्र टोलीका सहायक नेता थिए। अफ्रो–एसियन गेममा नेपालसहित ५१ राष्ट्र सहभागी थिए।
राजा सिहानुक भियतनाम युद्धका बेला अमेरिकी कोपभाजनको सिकार बन्न पुगेपछि चीनमा निर्वासित जीवन बिताइरहेका थिए।
निर्वासनमा भए पनि चीन सरकारले सिहानुकलाई ठूलो सम्मान दिएको थियो। पेकिङमै उनको भव्य दरबार थियो। उनको दरबारमा कम्बोडियाको झन्डा गाडिएको थियो।
प्रतियोगिताको उद्घाटनसत्रमा समावेश हुन पेकिस्थित कभर्ड हलमा आउँदा सिहानुकलाई चीन सरकारले सम्मानित अतिथिको दर्जा दिएको थियो।
उनी अघि–अघि, चिनियाँ प्रधानमन्त्री चाउ एन लाई उनको पछि–पछि। उद्घाटनसत्रमा नेपालका टोली नेता नरशमशेर राणा अपर्झट देश फर्किए।
त्यसपछि नेपालको प्रतिनिधित्व गर्दै नृपेन्द्रले उद्घाटनसत्रमा राजा सिहानुक, चिनियाँ प्रधानमन्त्री चाउ एन लाईलगायत अन्य देशका प्रतिनिधिसँगै एउटै डेस्कमा बस्ने सौभाग्य पाए।
‘हामी पनि आयोजक राष्ट्र थियौं। त्यसैले उद्घाटनमा सबैलाई पंक्तिबद्ध राख्दा म नेपालको प्रतिनिधिका रूपमा राजा सिहानुक र प्रधानमन्त्री चाउ एन लाईसँगै अघिल्लो पंक्तिमा थिएँ,’ उनी सम्झन्छन्।
यतिबेला पनि सिहानुकसँग नजिकै भेट्ने अर्को मौका जुर्यो, नृपेन्द्रलाई। प्रतियोगिताकै बेला कम्बोडियाको राष्ट्रिय दिवस परेछ। यस अवसरमा सिहानुकले प्रतियोगिता खेल्न आएका सीमित राष्ट्रका प्रतिनिधिलाई पेकिङको आफ्नो भव्य महलमा पार्टी दिए।
त्यतिबेला नेपालबाट नृपेन्द्र र चीनका लागि तत्कालीन नेपाली राजदूत रणवीर सुब्बालाई निम्तो गरिएको थियो।
चाउ एन लाई पनि त्यो पार्टीमा सहभागी थिए। सिहानुकले त्यतिबेला पनि भव्य पार्टी आयोजना गरेका थिए। उनलाई संगीतमा गहिरो रुचि थियो। आफैं अर्केस्ट्रा कम्पोज गर्थे। ‘हिड्ने बेला सबैलाई आफूले कम्पोज गरेको संगीतको चक्का दिएका थिए,’ नृपेन्द्र भन्छन्।
२०२९ सालमा चीनले एसिया, अफ्रिका, ल्याटिन अमेरिकाबीच मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिता आयोजना गर्दा सिहानुक पेकिङमै निर्वासित जीवन बिताइरहेका थिए। यतिबेला नृपेन्द्र टोली नेताका रूपमा एक्लै चीन पुगेका थिए।
‘अन्तिम पल्ट सिहानुकसँग हात मिलाउने अवसर यहाँ पाएको थिएँ तर दोहोरो कुरा भएन,’ उनले भने। पछि चीनकै हस्तक्षेपका कारण सिहानुक ससम्मान आफ्नो देश फर्किए।
सिंहानुकको निधन ८९ वर्षको उमेरमा सन् २०१२ को अक्टुबर १५ मा चीनको बेइजिङमा भएको थियो। नृपेन्द्रले खेलको माध्यमबाट सिहानुकलाई भेट्न पाएको त्यो घटना अहिले पनि बिर्सन सकेका छैनन्।