भारतीय प्रधानमन्त्री मोदीले प्राप्त गरेको उपहार लिलामीमा

Agency

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष आफूले पाएको उपहारको लिलामी गर्ने भएका छन्।

भारतको संस्कृति मन्त्रालयले दिएको जानकारी अनुसार लिलामी १४ सेप्टेम्बरबाट सुरु भएर ३ अक्टुबरमा सम्पन्न हुनेछ।

प्रधानमन्त्रीको उपहार लिलामीबाट प्राप्त रकम नमामी गंगे प्रोजेक्टका लागि प्रयोग हुनेछ। मन्त्रालयका अधिकारीले गरेको अनुमान अनुसार प्रधानमन्त्री मोदीले पछिल्लो ७ महिनामा ९ दशमलव ६७ लाखको उपहार प्राप्त गरेका छन्।

सबैभन्दा बढी उपहार पाउनेमा भर्खरै निधन भएकी पूर्वपरराष्ट्र मन्त्री सुषमा स्वराजको रहेको छ। उनले ६ दशमलव ७ करोडको उपहार पाएकी थिइन।

प्रधानमन्त्री मोदीले गत जनवरीदेखि ४३ उपहार प्राप्त गरेका थिए। लिलामीमा इराकको राजधानी बगदादमा रहेको भारतीय दुतावासका अधिकारीले प्राप्त गरेको उपहार पनि राखिएको छ। दुतावासका अधिकारीले सुनको चुरा उपहारमा पाएका थिए। जसको बजार मूल्य ३१ हजार भारतीय रुपैयाँ अनुमान गरिएको छ।

विदेश मन्त्रालयले जारी गरेको सूचीमा सन् २०१६ देखि २०१८ सम्म विभिन्न सरकारी ओहदामा कार्यरत पदाधिकारीले उपहारको रुपमा प्राप्त गरेको आइफोनदेखि सुनको बिस्कुट पनि लिलामीमा राखिएको छ।


प्रकाशित मिति: : 2019-10-03 10:10:34

प्रतिकृया दिनुहोस्