महरा प्रकरणकी 'पीडित' महिलाले दिइन् प्रहरीमा निवेदन

फाइल तस्बिर

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफू पीडित भएको भन्दै मिडियामा आएकी महिलाले प्रहरीमा निवेदन दर्ता गराएकी छन्। महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार उनले आफूमाथि सभामुख महराले कुनै दुर्व्यवहार नगरेको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी हुन्।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार ती महिलाले आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन्।

उनले महरामाथि लागेको आरोप झूटो भएको दाबी गर्दै आफूले प्रहरीलाई फोन गरेको समेत याद नभएको जिकिर गरेकी छन्।

यसअघि सोमबार साँझ हाम्रा कुरा अनलाइनमा महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको भिडियोसहितको समाचार छापेको थियो।

सोही समाचारपछि महराले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए। तर, महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन्।

संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले नैतिकताको आधारमा दिएको राजीनामा बुधबार स्वीकृत भइसकेको छ।

प्रकाशित मिति: : 2019-10-02 22:36:02

प्रतिकृया दिनुहोस्