पीडितले दिइन आफू ‘डिप्रेसन’को विरामी भएको निवेदन, सभामुख महरामाथिको छानविन रोकिने संकेत

बिएल

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनी शाहीले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् ।

स्रोतका अनुसार बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् । शाहीले सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको आरोप लगाएकी थिइन् ।

यससँगै निवर्तमान सभामुख महरामाथि भइरहेको छानविन रोकिने देखिएको एक प्रहरी अधिकृतले बताए ।

मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो। महराले मंगलबार नै उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।

बुधबार संसद सचिवालयले महराले राजीनामा दिएकाले पद रिक्त भएको सूचना पनि निकालेको छ ।सचिवालयका सचिव भरतराज गौतमले एक प्रेस विज्ञप्ती जारी गर्दै उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको जानकारी दिएका छन् ।

त्यसको केही समयपछि नै संघीय संसदको सचिवालयले वेबसाइटको होमपेजबाट समेत महराको नाम हटाएको छ।यसअघि पेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक राखिएको थियो ।

 

प्रकाशित मिति: : 2019-10-02 21:34:18

प्रतिकृया दिनुहोस्