२२ वर्षे स्ट्राइकरले कतारलाई दिलाएको अद्‌भुत खुसी

Photo: Agency

अबुधावी– अलमोइज अली एएफसी एसियन कप फुटबल प्रतियोगिता २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। ‍२२ वर्षीय अलीले कतारलाई पहिलो पटक एसियन कपको उपाधि दिलाउने क्रममा प्रतियोगिताभर ९ गोल गरेका थिए। उनले एउटै एसियन कपमा बढी गोल गर्ने पहिलो खेलाडी बन्दै रेकर्ड बनाउन सफल भए।

सुडानमा जन्मिएका अलीले शुक्रबार राति भएको फाइनलमा पनि गोल गरेका थिए। सो गोलसँगै कतारले अग्रता लिएको थियो। अन्तत: चार पटकको च्याम्पियन जापानलाई हराएर कतार एसियन कपको नयाँ विजेता बन्यो।

अली र कतारले रेकर्ड बनाएसँगै अरब राष्ट्रबाट नाकाबन्दी बेहोरिरहेको कतारले खेलकुदमार्फत ठूलो राहत बटुलेको छ। लगातार ९ खेलमा जित निकाल्दै नयाँ च्याम्पियन बन्दा सारा कतारका जनताले सडकमा उत्रिएर खुसीयाली मनाएका छन्। कतारले एसियन कपभर फाइनलमा १ गोल खानु अलावा अन्य खेलमा गोल नै खाएन। उसले लगातार ७ खेलमा जित हात पार्ने क्रममा एसियाका शक्तिहरुलाई हरायो।

गत वर्ष छिमेकी राष्ट्रबाट नाकाबन्दी बेहोरेको कतारले युएई पुग्नका लागि कुवेतको रुट प्रयोग गरेको थियो। जनबी युएई पुग्नका लागि सिधा उडान आधा घन्टाको मात्र थियो। नाकाबन्दीका कारण कतारको टिम घन्टा यात्रा तय गरेर युएई पुगेको थियो। यस्तै उसले समूह चरणका खेलमा आफ्ना समर्थकबिना खेल्नु परेको थियो।

एसियन कप सुरु हुनअघि फिफा वरीयताको ९३औं स्थानमा रहेको कतार अबर देशहरु मध्ये एसियन कप जित्ने पहिलो टिम बन्यो।

 

'एसियन कपमा गोल गर्छु भन्ने लागेको थियो। तर ९ गोल गर्छु भन्ने लागेको थिएन। नलुकाइ भन्नु पर्दा तीन वा चार गोल गर्छु भन्ने लागेको थियो। मेरो टिमले मलाई धेरै गोल गर्न धेरै सहयोग गर्यो,' अलीले भने, 'स्ट्राइकरको रुपमा मैले गोल गर्न नसकेको भए मलाई दुख लाग्ने थियो। मैले ७ खेलमा ९ गर्न सफल हुँदा धेरै खुसी लागेको छ।'

अलीले ९ गोल गर्दै इरानका अली डाएइको रेकर्ड भंग गरेका हुन्। इरानका डाएइले यसअघि एकै प्रतियोगितामा ८ गोल गरेका थिए। डाएइले सन् १९९६ को एसियन कपमा ८ गोल गरेका थिए।

गत वर्ष चीनमा भएको एएफसी यु२३ च्याम्पियनसिपमा पनि अलीले सर्वाधिक गोल गरेका थिए। उनले कतारलाई लगातार ६ खेल जिताएर फाइनल पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले समूह चरणमा उत्तर कोरिया विरुद्ध चार गोल गरेका थिए।

अलीले कतारले उपाधि जित्नुको मुख्य कारण टिम वर्क भएको प्रतिक्रिया समेत दिएका छन्।

 

कतारले हात पारेका जित

समूह चरण
कतार २–० लेवनान
कतार ६– ० उत्तर कोरिया
कतार २–० साउदी अरेबिया

अन्तिम १६
कतार १–० इराक

क्वार्टरफाइनल
कतार १–० दक्षिण कोरिया

सेमिफाइनल
कतार ४–० युएई

फाइनल
कतार ३–१ जापान्

नेपाल लाइभ

 

प्रकाशित मिति: : 2019-02-03 00:32:06

प्रतिकृया दिनुहोस्