महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई कांग्रेस नेता सिंहको सुझाव (भिडियोसहित)

बिएल

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्। बुधबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्त प्रकरणमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि महरा प्रकरणमा सरकारले कारवाही गर्नुपर्ने बताए।

उनले कानुन सबैका लागि समान भएको भन्दै अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न समेत आग्रह गरे। नेता सिंहले सभामुखको व्यक्तित्व प्रस्तुत गर्न महरा चुकिसकेको भन्दै नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने, महिलालाई दुव्र्यबहार गर्ने, ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता–कार्यकर्ता हुने, भन्दै सरकारलाई प्रश्न समेत गरे। नेता सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी गरिएको दाबी गर्दै संविधानको संरक्षण र संस्थागत विकासमा अरु दल भन्दा बढी लागि परेको दाबी गरे।

उनले चाडपर्वको बेला खाद्यन्न बस्तुको मुल्यवृद्धिको सिकार आम जनता भइरहेको भन्दै सामान्य कुराहरु पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए।

 

प्रकाशित मिति: : 2019-10-02 17:16:35

प्रतिकृया दिनुहोस्