संसदको वेबसाइटबाट महराको नाम हटाइयो !

बिएल

संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराको नाम हटाएको छ। महराले सभामुख पदबाट राजीनामा दिएको सूचना आज (बुधबार) संसद सचिवालयमा टाँसिएको थियो ।

सचिवालयका सचिव भरतराज गौतमले एक प्रेस विज्ञप्ती जारी गर्दै उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको जानकारी दिएका थिए । त्यसको केही समयपछि नै संघीय संसदको सचिवालयले वेबसाइटको होमपेजबाट नाम हटाएको हो ।

यसअघि पेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक राखिएको थियो ।

मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो। महराले मंगलबार नै उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति: : 2019-10-02 16:32:52

प्रतिकृया दिनुहोस्