पूर्वाधारका ९१ योजना शुरु

तस्बिरः एजेन्सी

दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरु गरेको छ । चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताए।

यो आवमा समानीकरणतर्फ रु ८६ करोड बराबरको बजेट रहेको र सशर्ततर्फ रु छ करोड २० लाख विनियोजन गरिएको उनले जानकारी दिए। उनका अनुसार सिस्नेखोला र कटुवाखोलाको दोभानमा पर्ने पुलका लागि यो वर्ष रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै कार्यालयले गत आवमा ८८ योजना निर्माणको काम पूरा गरेको छ । जम्मा ८६ सडक मर्मत, स्तरोन्नति र कल्र्भटका काम भएका छन् भने दुई पुल निर्माण भएका छन् ।

बाँकी २५ योजनाको काम भने अबको केही महीनामा पूरा हुने कार्यालय प्रमुख भण्डारीले बताए। उनका अनुसार गएको वर्ष समानीकरणतर्फ रु ४२ करोड सात लाख बजेट विनियोजन भएकामा रु २८ करोड खर्च भएको छ । साथै वर्षात्का कारण समयमै काम नहुँदा रु नौ करोड सात लाख बजेट फ्रिज हुनपुगेको समेत उनले बताए। समयमा गिट्टी, बालुवा उपलब्ध नहुँदा पनि समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै सशर्ततर्फ रु १९ करोड ९० लाख बजेट विनियोजन भएको थियो । सोमा रु १३ लाख ६० हजारको काम पूरा भएको प्रमुख भण्डारीले बताए। सशर्ततर्फको बाँकी बजेट पनि समय अभाव र वर्षातका कारण फ्रिज भएको छ । साथै उक्त कार्यालयले गत वर्ष ८.२१ किलोमिटर कालोपत्र गरेको छ । त्यस्तै ४५.३४ किलोमिटर सडक ग्राभेल गरिएको प्रमुख भण्डारीले जानकारी दिए। उनका अनुसार नौ हजार ४५४ घनमिटर टेवा पर्खालको काम भएको छ ।

उक्त कार्यालयले गत वर्ष चार पुल निर्माणको काम शुरु गरेको थियो । तीमध्ये चार पुलको काम पूरा भएको छ भने अन्य दुई पुलको काम यस वर्ष पूरा हुनेछ। सौडियार–धर्ना सडकखण्डमा पर्ने बबई खोलामा ७० मिटर लम्बाइको पक्की पुल र हेकुली–श्रीगाउँ चिराघाटखोलामा पर्ने ७५ किलोमिटरको पुलको निमार्णकार्य पूरा भएको छ । ती पुलको काम पूरा भएर पनि सञ्चालनमा आइसकेका उनले बताए। बबई गाउँपालिकाअन्तर्गत खिलतपुर च्याटीखोलामा पर्ने पुल र गढवा गाउँपालिकामा पर्ने जनहरि खोलाको पुल बन्दै गरेको अवस्थामा रहेको छ।

प्रकाशित मिति: : 2019-10-02 10:07:20

प्रतिकृया दिनुहोस्