मानवसेवा आश्रमलाई १ करोड दिने प्रधानमन्त्रीको घोषणा

तस्बिरः रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्यका कामका लागि हुनेगरी सो रकम सहयोग गरिने जनाए। निःस्वार्थ र समाजसेवी भावनाले सो संस्थामा आबद्धको अभियानबाट आफू प्रभावित भएकाले सरकार र स्थानीय तहले यस्तो अभियानमा सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए।

उनले नेपाललाई चाँडै सडक बेसहारा र सडक बालबालिकामुक्त देश घोषणा गर्न सरकारी र मानवीय मन भएका सबैको पहल हुनुपर्नेमा जोड दिए।

उनले भने, 'मुलुकको समृद्धि केवल आर्थिक समृद्धि मात्र होइन, हामी मन र सभ्यताको समृद्धिको तहमा पनि पुग्नुपर्छ। केही नगरी केवल हल्ला र विरोध गरेर हिँड्नुको साटो यस्तै समाजसेवामा लाग्नु धेरै उचित हुनेछ।'

मकवानपुरमा मुख्यालय रहेको सो संस्थाले मुलुकका विभिन्न १४ स्थानमा यस्तै आश्रममा गरी करीब ८ सय बेसहारालाई पालनपोषण गर्दै आएको छ। रासस

प्रकाशित मिति: : 2019-09-30 07:58:21

प्रतिकृया दिनुहोस्