ईयूको पत्र - ‘रक्षकनै भक्षक' भएकाले नेपाली विमानलाई कालोसूचीबाट हटाउन सकिंदैन

काठमाडौं मंसिर १ : युरोपियन युनियनले छ बर्षदेखि नेपाली विमानलाई कालो सूचीमा राख्ने निर्णय नेपाल सरकारले केही प्रावधानमै परिवर्तन नगरेसम्म सच्चाउन नसक्ने जनाएको छ। 

पर्यटन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनको कालोसूची हट्ने दावी गरिरहेका बेला उसले नेपाली विमानहरुको अनुगमन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को संचालक समितिबाट विमान संचालकहरु नहटाएसम्म कालोसूची खोल्न नमिल्ने स्पष्ट पारेको छ। 

पर्यटन मन्त्रालय स्रोतका अनुसार युरोपियन युनियनले ‘जुन निकायले विमानहरुको अनुगमन र निरिक्षण गर्ने हो सोही निकायका प्रतिनिधि रहने व्यवस्था आईकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण)को नियमअनुसार नमिल्ने’ भन्दै तत्काल विमान संचालकहरु प्राधिकरणको सदस्य हुने प्रावधान हटाउन पत्र लेखेर आग्रह गरेको छ। 

तर पर्यटन मन्त्रीले भने कानुन संशोधनतर्फ चासोनै नदिई नेपाली विमानलाई युरोपियन आकाशबाट कालोसूचीबाट हटाउने विषयमा गम्भीर कुरा भएको र छिट्टै हट्ने दावी मात्रै गर्दै आएका छन्। 

‘विमान कम्पनीहरुको गुणस्तर निरिक्षण गर्ने, इजाजत दिनेदेखि सबै अनुगमन गर्ने निकायमा तिनै विमान कम्पनीका संचालक सदस्य हुने हाम्रो नियममा युरोपियन युनियनको चोसो देखिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो सैद्धान्तिक विषय संवोधन नभएसम्म कालोसूचीबाट हट्न सक्दैन ।’

प्रकाशित मिति: : 2019-11-17 18:22:45

प्रतिकृया दिनुहोस्