पार्टीमा सीमित व्यक्तिलाई जे मन लाग्छ त्यही निर्णय हुने गरेको छ: भीम रावल

नेकपा स्थायी समिति सदस्य भीम रावलले पार्टी सामूहिक निर्णयका आधारमा चल्न नसकेको बताएका छन्।

सेतोपाटीसँग कुरा गर्दै रावलले स्थायी समिति बसेको एक वर्षसम्म पनि अर्को बैठक नबोलाएर पार्टीको विधान मिच्ने काम भएको बताए।

‘हाम्रो पार्टीको विधानअनुसार प्रत्येक तीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्छ। तीन महिनामा बस्ने भनिएको नियमित बैठक हो,’ रावलले भने,  ‘देश, जनता र पार्टीको दीर्घकालीन जीवनमा असर पार्ने कुनै पनि विषय आए भने ती विषयमा स्थायी समितिमा जुनसुकै बेला पनि छलफल हुनुपर्छ र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा समेत छलफल हुनुपर्छ।’

कैयौं गम्भीर र दीर्घकालीन असर पर्ने विषय आउँदासमेत पार्टीमा छलफल भएन भने त्यसले देश अनि पार्टी दुबैको हित नगर्ने रावलले बताए।

प्रकाशित मिति: : 2019-11-14 12:29:16

प्रतिकृया दिनुहोस्