विमानस्थल बन्‍नु हुँदैन भनेकै छैन,मिडियामा आउँदा त्रुटी भएको हुनसक्छ: प्रदेश २ पर्यटनमन्त्री

बिएल

प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले आफू बारामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको विरोधी नरहेको बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार सिमरामा आयोजित कार्यक्रममा सहभागी हुन आएका मन्त्री यादवले मिडियामा आएजस्तो विमानस्थलको विरोधमा आफू नरहेको बताए ।

'मैले विमानस्थल बन्नु हुँदैन र रुख काट्न दिन्न भनेर कतै भनेको छैन । मिडियामा आउँदा त्रुटी भएको हुनसक्छ', मन्त्री यादवले भने, 'संघीय सरकारले हामीसँग समन्वय गरेन र विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको हुँ । कम रुख कटान गरेर विमानस्थल बनाउँदा कुनै आपत्ती छैन।'

अन्तर्राष्टिय विमानस्थल प्रदेश २ को भूमिमा बन्नु आफैमा गौरवको विषय रहेको भन्दै मन्त्री यादवले संघीय सरकार र प्रदेश सरकारबीच समन्वय हुनुपर्छ भन्ने मात्रै आफ्नो भनाई रहेको स्पष्ट पारे।

'राष्ट्रिय वन क्षेत्रको अधिकार अहिले प्रदेश सरकारको मातहतमा रहेको छ । तर यही प्रदेशभित्र विमानस्थल बनाउँदा प्रदेश सरकारसँग समन्वय गरिएको छैन्', मन्त्री यादवले भने, 'हामी पनि विमानस्थलकै पक्षमा छौं तर समन्वयको अभाव छ।'

प्रकाशित मिति: : 2019-09-27 13:01:24

प्रतिकृया दिनुहोस्