५० वर्षमा जन्मिएको छोरा सुनकोशीले खायो

काटाकुटी, दोलखा : आइतबार चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला सन्तान हुन् । 

दुईवटा विवाहबाट सन्तान नजन्मिएपछि तेस्रो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दुर्घटनामा मृत्यु भएपछि उनी गहिरो पीडामा छन् । छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको इच्छा सुनकोशीमा क्षणभरमै विलिन भयो।

सोही दुर्घटनामा ज्यान गुमाएकी २० वर्षीय कविता राउतको सरकारी जागिर खाएर अधिकृत बन्ने लक्ष्य रहेको उनकी फुपू सरस्वती राउतले बताइन् । सदरमुकामको कालिञ्चोक माविबाट भर्खरै एजुकेशन साइन्समा प्लसटुमा ३ दशमलब ४१ जीपीएसहित क्याम्पस प्रथम भएकी थिइन। सरकारी जागिरको तयारी कक्षा र स्नातक तहको पढाइका लागि भर्ना हुने लक्ष्यसहित बिहान हाँसीखुशी बस चढेकी कविताको मृत्युको खबरले उनकी आमा अम्बिका राउत छिन छिनमा मुर्छा पर्छिन्।

बस दुर्घटनामा छोराको मृत्युको खबर सुनेका खड्का र छोरीको मृत्युको खबर सुनेकी अम्बिका बोल्न नसक्ने अवस्थामा छन्। सोमबार दिउँसो २ बजे शैलुङ गाउँपालिका ५, काटाकुटीको खड्का र राउतको टोल पुग्दा सुनसान थियो।

प्रकाशित मिति: : 2019-11-05 17:22:25

प्रतिकृया दिनुहोस्