१० खर्ब लागतको सात वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रम प्रभावहीन

तस्बिरः एजेन्सी

काठमाडौं - साढे ११ खर्ब खर्च गरेर सरकारले कार्यान्वयनमा ल्याएको सात वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को मध्यवर्ती समीक्षाले सरकारले माध्यामिक परीक्षा शिक्षा कक्षा १० (एसइई) को नतिजामा ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरुले विज्ञान र गणित विषयमा ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने गरेको तथ्यांक देखाएको छ। यसका साथै अंग्रेजी विषयमा समेत विद्यार्थीको नतिजा ४० प्रतिशतभन्दा मुनि नै रहेको उल्लेख गरेको छ।

शिक्षा मन्त्रालयलाई बुझाइएको एसएसडिपीको मध्यवर्ती समीक्षा प्रतिवेदनले सामुदायिक स्कुलहरुमा विषयगत शिक्षाको अभावका साथै विज्ञान, गणित र अंग्रेजी विषयका शैक्षिक सामग्री विद्यालयमा पुग्न नसक्दा माध्यामिक तहमा विद्यार्थीको नतिजा सुधार गर्न चुनौती थपिँदै गएको औंल्याएको छ। प्रतिवेदनले वर्तमान अवस्थामा सामुदायिक स्कुलहरुमा विज्ञान, गणित तथा अंग्रेजी विषयमा शिक्षण सिकाइका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक सामग्री नभएको औंल्याएको छ। ‘एसएसडिपीको लक्ष्यअनुसार कक्षा ६–८ सम्म शिक्षकका लागि शिक्षण निर्देशिका र विद्यार्थीका लागि सिकाइ सामग्री निर्माण गरिनेछ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यसका साथै विज्ञान, गणित र अंग्रेजी सिकाइ सामग्रीमा आधारित भएर पठनपाठन गराइनु पर्छ।’ प्रतिवेदनमा थप उल्लेख छ, ‘लक्ष्यको पहिलो वर्षमा एक हजार, दोस्रो वर्षमा दुई हजार र तेस्रो वर्षमा ३ हजार स्कुलहरुमा यसलाई कार्यान्वयनमा ल्याइने एसएसडिपीले लक्ष्य तय गरेको छ।’

प्रकाशित मिति: : 2019-10-04 06:37:16

प्रतिकृया दिनुहोस्