चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुपुर्दगी सन्धिको तयारी

तस्बिरः नयाँ पत्रिका

दुई देशका सहसचिवस्तरीय कार्यदल निरन्तर छलफलमा, सन्धि भए आपराधिक गतिविधि गरेर एक–अर्काका देशमा लुकेका नागरिकलाई पक्राउ गरी औपचारिक रूपमै हस्तान्तरण गरिनेछ

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा दुई देशबीच सुपुर्दगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर गर्न गृहकार्य अघि बढाइएको छ । सन्धि भए आतंकवादी गतिविधिमा संलग्न तथा अपराध गरेर एक–अर्काको देशमा लुकेका नागरिकलाई पक्राउ गरी औपचारिक रूपमा बुझाउनुपर्नेछ । सन्धिको मस्यौदालाई अन्तिम रूपमा दिन सहसचिवस्तरको कार्यदल बनाएर दुई देशका अधिकारीबीच केही दिनयता नियमित छलफल चलिरहेको छ । गृह मन्त्रालयले सहसचिव रामकृष्ण सुवेदीको नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलले सुपुर्दगी सन्धिकै विषयमा चिनियाँ पक्षसँग आइतबार मात्रै दुई चरण छलफल गरेको छ । 

गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले सुपुर्दगी सन्धिबारे दुईपक्षीय छलफल चलिरहेको पुष्टि गरे । ‘चिनियाँ पक्षबाट सुपुर्दगी सन्धि गर्ने विषयमा नेपाललाई प्रस्ताव आएको छ, त्यसमाथि छलफल चलिरहेको छ । दुई पक्ष सहमतिमा पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ आएकै वेला सन्धिमा हस्ताक्षर हुन्छ,’ उनले भने । 

प्रकाशित मिति: : 2019-09-30 07:08:48

प्रतिकृया दिनुहोस्