बढेको तलबले पनि नथेग्‍ने गरी बढ्‍यो बजार भाउ

तस्बिरः नेपाल न्यूज

सरकारले वृद्धि गरेको तलबले पनि नथग्ने गरी बजार भाउ बढेको छ। यसपाली १८ देखि २० प्रतिशतसम्म तलब बढेको थियो। तर, बजार भाउले त्यसलाई पछाडि पार्दै अघि बढेको छ। एक वर्षअघि साउनको तुलनामा तरकारीको भाउ यो साउनमा २३.३८ प्रतिशत र फलफूलको भाउ २०.२ प्रतिशत महँगिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। माछामासु, खाद्यान्न, लत्ताकपडा पनि त्यतिकै महँगिएको छ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा यो आर्थिक वर्ष मूल्यवृद्धि ६ प्रतिशतभित्र राख्ने प्रक्षेपण गरेको थियो। तर, यो आर्थिक वर्षको सुरु महिना साउनमै मूल्य वृद्धि ७ प्रतिशतको हाराहारीमा पुगेको तथ्यांक सार्वजनिक गरेको छ। कर्मचारीको तलब र वृद्धभत्ता बढेकाले मूल्यवृद्धिमा दबाब परेको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘यो वर्ष कर्मचारीको तलब र वृद्धभत्ता बढाइएको छ। यस्तो बेलामा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ,’ उनले नेपालन्युजसँगभने, ‘मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्न निकै कठिन हुने देखिन्छ।’ यो आर्थिक वर्षदेखि बढेको कर्मचारीको तलब र वृद्धभत्ताले थेग्न नसक्ने गरी दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। साउनदेखि कर्मचारीको तलब, वृद्धभत्ता र अशक्त, अपांग, एकलमहिला, लोपान्मुख आदिवासी जनजातिको बढेको भत्ताभन्दा महँगी धेरैले वृद्धि भएको हो।

प्रकाशित मिति: : 2019-09-27 06:48:33

प्रतिकृया दिनुहोस्