अधिकांश मन्त्री र सचिवको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

तस्बिरः राजधानी

मन्त्री र सचिवलाई प्रश्न : तपाईंहरू किन चल्ते चलाते जस्तो ? 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन् । उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र सचिवस“ग गरेको समीक्षा बैठक र अनलाइन मोनिटरिङ व्रिफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुरूप मन्त्री, सचिव र कर्मचारीले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘तपाईंहरू सबै कस्सिएर काम गर्नुको विकल्प छैन, चल्ते चलाते किसिमले काम गरेर मुलुकको विकास र समृद्धि हासिल गर्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई कडा निर्देशन दिँदै भने ।

प्रधानमन्त्री कार्यालयले चालू आर्थिक वर्ष २०७६÷७७ को साउन र भदौ महिनामा मन्त्रालयले गरेका कामको अनलाइन मोनिटरिङ गरेको छ । नीति तथा कार्यक्रम र बजेटमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा परेका कामको बारेमा मोनिटरिङ गर्दा अधिकांश मन्त्रालयको प्रगतिविवरण सन्तोषजनक नभएको पाइएको छ । गत साउनको पहिलो साता २१ वटै मन्त्रालयले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको बारेमा दुईमहिने कार्ययोजना प्रधानमन्त्री कार्यालयसमक्ष पेस गरेका थिए । त्यसरी पेस गरिएको कार्ययोजनाअनुसार मन्त्रालयले काम गरे नगरेको बारेमा प्रधानमन्त्री कार्यालयले अनलाइन मोनिटरिङ गर्दै आएको थियो । अनलाइन मोनिटरिङ गर्दा अधिकांश मन्त्रालयको काम सन्तोषजनक नभएको पाइएपछि प्रधानमन्त्री ओली मन्त्री र सचिवस“ग असन्तुष्ट भएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रीस“ग र मन्त्रीहरूले सचिवस“ग कार्यसम्पादन सम्झौतासमेत गरेका थिए । तर, सो सम्झौताअनुसार काम नभएको र परिणाम आउन नसकेको भन्दै प्रधानमन्त्रीले थप असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: : 2019-09-27 06:33:56

प्रतिकृया दिनुहोस्