टीकापुर घटना: रेशम चौधरी स-सम्मान बाहिर आउने प्रचण्डको विश्वास

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टीकापुर घटनाका मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको बताएका छन्।

सुनसरीमा आइतबार जितिया पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्डले यस विषयमा केहीदिन अघि बालुवाटारमा छलफल भइसकेको जानकारी दिए।

‘अस्ती भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुठा मुद्दाहरू खारेज गर्ने सैद्धान्तिक निर्णय गरेका छौं र खारेजीको प्रक्रियामा अघि बढिएको छ,’ प्रचण्डले भने,‘मलाई विश्वास छ केही समयपछि झुठा मुद्दाहरू खारेज हुन्छन्।’

आफूले नेतृत्व गरेको माओवादी आन्दोलनका क्रममा जेल परेकाहरू अहिले पनि जेलमै रहेकाले टीकापुर घटनामा जेल परेकाहरूको पीडा आफूले बुझेको प्रचण्डले बताए।‘जनताको मतबाट जितेका माननीयहरूलाई स-सम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास पनि तपाईंहरूको अगाडि राख्न चाहन्छु,’ प्रचण्डले भने।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। सोही मुद्दामा चौधरीसहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो।कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद चौधरीलाई जन्मकैदको सजाय तोकेको छ।

न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एक जनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको हो।चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ।

उनीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३, ९३० बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ। ती मध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख छ।

पुर्पक्षका लागि जेलमै रहँदा चौधरीले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत उम्मेदवारी दिएका थिए। उनी कैलाली १ बाट भारीमत ल्याएर सांसद निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2019-09-22 16:19:16

प्रतिकृया दिनुहोस्