माथिल्लो कर्णाली जलविद्युत् आयोजना : ‘जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउने’

तस्बिरः एजेन्सी

काठमाडौं । भारतका ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावाट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् । नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौंमा भएको बैठकमा उनले यस्तो बताएका हुन् ।  सकेसम्म जीएमआरले नै बनाओस्, नभए अन्य भारतीय कम्पनी खोजिने उनको मनसाय रहेको बैठकका सहभागीमध्ये एक नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘जीएमआरले अघि बढाएको माथिल्लो कर्णालीको जग्गा सम्बन्धी परेको अप्ठ्यारो नेपाल सरकारले हेरिदेओस्,’ भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहलाई उदृत गर्दै अधिकारीले भने, ‘त्यति भएपछि जीएमआरले नै बनाउनेछ, केही गरी उसले सकेन भने ऊसँग हामी कुरा गर्नेछौं र अरू भारतीय निकाय पनि बनाउन तयार हुनेछन् भन्ने कुरा उहाँले राख्नुभयो ।’ 

विद्युत् ऐन २०४९ को दफा ३५ अनुसार सरकारले बिना प्रतिस्पर्धा कुनै पनि व्यक्ति वा संस्थालाई जलविद्युत् आयोजना विकासका लागि करार गरेर दिन सक्छ । यदि जीएमआरले उक्त आयोजना निर्माण नगर्ने अवस्था आयो भने यही दफा प्रयोग गरी सरकारले भारतको इच्छा अनुसारको अर्को कुनै भारतीय कम्पनीलाई दिन पनि सक्छ । 

प्रकाशित मिति: : 2019-09-15 07:02:15

प्रतिकृया दिनुहोस्