जो इन्द्रजात्रामा रमेका छैनन्, उनीहरू काठमाडौंमा जमेका छैनन्

गत वर्षको इन्द्रजात्रा। सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी

काठमाडौं उपत्यकाका चाडपर्वले संसारका उच्चकोटीका संस्कृतिलाई चुनौती दिन्छन्। रोम र इटालीका सडक समारोहदेखि ब्राजिलका कार्निभल र जापानका हाकाता पर्वहरू हाम्रा इन्द्रजात्रा र बिस्केट जात्रासामु फिक्का छन्। हाम्रा यी पर्वले यहाँका कलाकौशल मात्र पस्कँदैनन्, त्यसभित्रका जीवन दर्शन पनि प्रतिविम्बित गर्छन्। काठमाडौं उपत्यकामा मनाइने थुप्रै जात्रा र चाडपर्वमध्ये इन्द्रजात्राको विशिष्ट स्थान छ। तपाईं काठमाडौंबासी भइसक्नुभयो र इन्द्रजात्रामा रम्नुभएको छैन भने काठमाडौंमा अझै जम्नुभएको छैन।

इन्द्रजात्रा भन्नेबित्तिकै धेरैका मनमा कुमारी, भैरव र गणेशका रथ, आकाश भैरवको मुकुन्डो, नेवारी परिकारले सजिएका समयःबजीको थुप्रो, लाखे र पुलुकिसीका चर्तिकला, सोभा भकु र महाकाली देवीगणका नाच चित्रित हुन्छन्। टोल–टोलका खाँबामा बाँधिएका इन्द्र, उनको सम्मानमा बालिएका दियो र बीचबाटोमा हाथाद्योको घ्याम्पोबाट निस्कने जाँडको मजा यस जात्राका अन्य विशेषता हुन्।

 

प्रकाशित मिति: : 2019-09-13 07:31:06

प्रतिकृया दिनुहोस्