हिमाल चढ्यो डेङ्गु : ६१ जिल्ला प्रभावित, थपिए नयाँ बिरामी

तस्बिरः एजेन्सी

काठमाडौँ । सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार ९५ जना डेंगु संक्रमणका नयाँ बिरामी थपिएका छन् । 

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत पुगेको महाशाखाले जनाएको छ । 

केही वर्ष अघिसम्म तराई क्षेत्रमा मात्रै देखिने डेंगुको अहिले पहाड हुँदै हिमालसम्म पुगेको हो ।

महाशाखाले दिएको जानकारी अनुसार साउन १ देखि भदौ २४ गतेसम्मे सबैभन्दा धेरै डेंगुका बिरामी प्रदेश नं. ३ मा छन् । प्रदेश नं. ३ मा ३ हजार १ सय २६ जनामा डेङ्गुको संक्रमण देखिएको हो । यस्तै सबै भन्दा पहिला डेङ्गुको संक्रमण फैलिएको प्रदेश नं. १ मा भने साउनदेखि अहिलेसम्म ८ सय ३१ जना नयाँ बिरामी थपिएका छन् । 

 

प्रकाशित मिति: : 2019-09-11 18:07:42

प्रतिकृया दिनुहोस्