लुटेर लगेको झोलाले खोल्यो विप्लव समूहका नेताको कर्तुत !

तस्बिरः रातोपाटी

काठमाडौं । ‘सुन चाहिएको छ भने मलाई सम्पर्क गर्नुहोस्,’ नुवाकोट तारकेश्वरका ३० वर्षीय राजन तामाङले तीन महिनाअघि नवलपरासी बर्दघाटका योगेश विकलाई भनेका थिए ।

उनीहरुको सामान्य चिनजान मात्र थियो । तर, राजनलाई योगेश सुनचाँदी व्यवसायी हुन् भन्ने चाहिँ थाहा थियो । योगेशको नवलपरासीमै बालकृष्ण सुनचाँदी पसल छ । बीच–बीचमा राजनले योगेशलाई तारन्तर फोन गरिरहन्थे ।

गंगालाल अस्पतालमा उपचाररत बुबालाई भेट्न काठमाडौँ आएको बेला योगेशले राजनलाई पनि भेट्ने योजना बनाउँछन् । राजनले योगेशलाई सामाखुसी बसपार्कस्थित मुस्ताङ गेष्ट हाउसको ४०४ कोठा नम्बरमा बोलाउँछन् ।

योगेशसँग २ वटा झोला हुन्छ । सानो झोलामा सुन किन्न ल्याएको पैसा र ठूलो झोलामा आफ्नो कपडा । राजनले विदेशबाट ल्याएको ५०–५० ग्रामको सुनको ढिक्का आफूसँग रहेको कुरा योगेशलाई जानकारी गराएका समेत थिए ।

योगेश सो होटलको ४०४ नम्बरको कोठामा पुग्छन् । राजन एक्लै हुन्छन् । एकछिन उनीहरुबीच कारोबारको विषयमा कुराकानी हुन्छ । कुराकानीकै क्रममा राजनले साथीहरुले सुन ल्याउँदैछन् भनेर योगेशलाई भुलाउँछन् ।

केहीबेरमा सो कोठामा थप ४ जना युवाहरु पस्छन् । कोठाभित्र पसेलगत्तै उनीहरुले योगेशलाई कन्चटमा पेस्तोल देखाएर ‘हामी प्रहरी हौँ’ भन्दै ठूलो झोला लुटेर त्यहाँबाट भाग्छन् । सानो झोला योगेशसँगै हुन्छ ।

आफू लुटिएको थाहा पाएपछि योगेशले प्रहरीमा उजुरी दिन्छन् । उजुरी दिएको आधारमा प्रहरीले होटलको सीसी क्यामेरा हेर्छ । सीसी क्यामेरा हेर्दै गर्दा आधारमा प्रहरीले एकजना लुटेराको पहिचान गर्छ ।

प्रहरीले चिनेको व्यक्ति थिए गुल्मी ईस्मा गाउँपालिका–५ घर भई हाल हल्चोक बस्ने ३० वर्षीय युवराज भण्डारी । प्रहरीले युवराजलाई खोज्न सुरु गर्छ । अन्ततः महानगरीय प्रहरी परिसरको टोलीले दिउँसो १ बजेतिर बसपार्कबाट भण्डारीलाई पक्राउ गर्न सफल हुन्छ ।

भण्डारीलाई पक्रेर सोधपुछ गर्दै जाँदा घटनामा थप ७ जनाको संलग्नता देखिन आएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रातोपाटीसँग भने । भण्डारीको बयानको आधारमा खोज्दै जाँदा बाँकी ७ जना बसपार्कस्थित हाई रेष्टुरेन्ट एण्ड बारबाट पक्राउ परेको डीएसपी बोगटीले बताए ।

प्रकाशित मिति: : 2019-09-08 16:53:56

प्रतिकृया दिनुहोस्