शक्तिका आडमा अपराध, ठगीबाटै कैयौंको उठीबास

फाइल तस्बिर

धनगढी - ऋषि पञ्चमीका दिन नाचगान गरेर साँझ घर फर्कंदै गर्दा धनगढी उपमहानगरपालिका–५ तारानगरकी पार्वती भण्डारी सत्कार चोक पुग्दा लुटिइन्। मोटरसाइकलमा आएका दुईजनाले उनको हातको झोला खोसेर लगे। मानिसको चहलपहलकै बीच अप्रत्यासित रूपमा सो घटना भएको थियो। उनले सहयोगका लागि अरूलाई गुहार्न खोज्दाखोज्दै लुटेर भागिसकेका थिए। लगत्तै उनले प्रहरीलाई घटनाबारे जानकारी गराइन्। तर अहिलेसम्म लुटेर फेला पर्न सकेका छैनन्।

गत जेठ १३ गते बसपार्कस्थित श्रीपाल होटलमा तारानगरका आदर्श भट्ट मृत भेटिए। होटलको १०५ नम्बर कोठामा बाहिरबाट चुकुल लगाएको अवस्थामा उनी भित्रपट्टि मृत भेटिनुले घटना रहस्यमय बनेको छ। अत्यधिक लागूऔषध सेवन गरेकाले भट्टको मृत्यु भएको भन्दै प्रहरीले मिडियाबाजी गरे पनि भिसेरा रिपोर्टमा लागू औषध र विष सेवनको केही अंश नदेखिएपछि पीडित परिवारले होटलको कोठामै आदर्शको हत्या भएको बताउँदै आएका छन्। ‘लागूऔषधको मात्रा अत्यधिक लिएका कारण आदर्शको मृत्यु भएको भनी प्रहरीले हचुवाका भरमा बोलेका छन्, भिसेरा रिपोर्टले त्यसो भन्दैन,’ बुबा शम्भुप्रसाद भट्टले भने। आदर्शको पोस्टमार्टमपछि ल्याब परीक्षण रिपोर्टले लागूऔषध प्रयोग नगरेको देखिएकाले छोराको हत्या नै भएको बुबा शम्भुको दाबी छ। 

राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ। स्रोतका अनुसार बिहीबार राति पक्राउ परेको गिरोहको पनि केही प्रहरी अधिकारीसँग हिचमिच थियो। प्रहरी अधिकारी र शक्तिकेन्द्रनजिक रहेकाहरूका आडमा उनीहरूले राज्यलाई नै चुनौति दिनेगरी अर्बौंको ठगी निर्बाध रूपमै गरिरहेको खुलेको छ।

गत साउन २ गते बेलुकी धनगढी सहिदगेटनजिकैको निलम होटलमा विप्लव समूहको कार्यकर्ताले बोकेको झोलाभित्र बम विस्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै चारजना गम्भीर घाइते भए, जसमा तीनजना सर्वसाधारण थिए। घाइतेहरू अहिलेसम्म तंग्रिन सकेका छैनन्। प्रहरीले घटनास्थलबाट एक थान चिनियाँ पेस्तोलसमेत बरामद गरेको थियो। बिहीबार राति सिआइबीको केन्द्रीय टोलीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाटै चार थान पेस्तोलसहित तीनजनालाई पक्राउ ग-यो। यिनीहरूले हतियार कारोबार, मिटरब्याज र विभिन्न सरकारी कार्यालय तथा अड्डा अदालतका नक्कली छापसहितको कागजपत्र बनाएर विगत ६ वर्षदेखि ठगी धन्दा गर्दै आएको खुलेको छ।

यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पछिल्लो समय व्यापक आपराधिक गतिविधि, चोरीडकैती, लुटपाटका घटना बढेपछि स्थानीयले असुरक्षा महसुस गर्न थालेका छन्। ‘पछिल्ला दिनमा दैनिक चोरी, लुटपात तथा आपराधिक क्रियाकलापले समाज त्रसित छ,’ स्थानीय गीता रावलले भनिन्, ‘आपराधिक क्रियाकलापले महिलालाई हिँडडुल गर्न झनै गाह्रो छ।’

धनगढीमा आपराधिक गतिविधि बढेको इन्सेक क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय संयोजक खडकराज जोशी बताउँछन्। ‘धनगढीमा चोरी तस्करी, बलात्कार, लुटपाट, असुरक्षाका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्,’ उनले भने, ‘यसले आपराधिक गतिविधिमा संलग्नहरूको खोजीकार्यमा प्रहरी अनुसन्धान चुस्त र दुरुस्त हुन नसकिरहेको दर्साउँछ।’

प्रकाशित मिति: : 2019-09-08 06:58:18

प्रतिकृया दिनुहोस्