विश्वका अपराधीको अखडा बन्दै काठमाडौं

तस्बिरः नयाँ पत्रिका

डिल्लीबजारको कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा हाल चार विदेशी थुनामा छन् । अमेरिका, बंगलादेश, यमन र जोर्डनका ती विदेशी फरक–फरक अपराधमा पक्राउ परेका हुन् । 

चारमध्ये अमेरिकी नागरिक नाथम माओवास्की अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका व्यक्ति हुन् । उनीविरुद्ध इन्टरपोलले समेत रेड नोटिस जारी गरेको थियो । बंगलादेशका मोहिन उद्दिन भारतीय पासपोर्ट बोकेर नेपाल हुँदै दुबई जाने क्रममा समातिएका हुन् । यमनका मोहम्मद अल कुरेली र जोर्डनका सेफ अडनन डिबाय खानी पर्यटक भिसामा नेपाल आएर अवैध रूपमा बस्दै आएका हुन् । कुरेली आफ्नो देशमा हिंसा बढेपछि पर्यटक भिसामा नेपाल आएका थिए । यसअघि नै एटिएम ह्याकिङ तथा नेपाली युवती तस्करीमा संलग्न दुईवटा चिनियाँ गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

नेपाल विदेशी अपराधीका लागि सहज ‘सेल्टर’ बनेको यी घटनाले पनि प्रस्ट पार्छ । उदार भिसा नीति, कमजोर नियमन प्रणाली, खुकुलो कानुन, पुरानो प्रविधिको प्रयोग तथा खुला सिमानाका कारण नेपाल विश्वका अपराधीको अखडा बन्दै गएको छ । 

४१ देशका १२ सय नागरिक नेपाली जेलमा

विभिन्न प्रकृतिका अपराधमा संलग्न एक हजार एक सय ९५ विदेशी नेपालको जेलमा छन् । त्यसमध्ये करिब आधा भारतीय रहेको कारागार व्यवस्था विभागका कामु महानिर्देशक वासुदेव घिमिरे बताउँछन् । बाँकी विश्वका ४० भन्दा धेरै देशका नागरिक छन् । जसमध्ये पाकिस्तान, भुटान, बंगलादेश, चीन, रसिया, बोलिभिया, सोमालिया, नाइजेरियालगायतका नागरिक धेरै रहेको घिमिरेले बताए । भारतीय नागरिक सबै किसिमका अपराधमा छन् । अफ्रिकी देशका नागरिक धेरैजसो ठगीमा समातिएका छन् । चिनियाँहरू सुन तथा अवैध डलर तस्करी मुद्दामा जेल परेका छन् ।

एक वर्षमा ६ सय विदेशी निष्कासित
आर्थिक वर्ष ०७५/७६ मा अध्यागमन विभागले करिब ६ सय विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । जसमा सबैभन्दा धेरै चिनियाँ छन् । अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने र अन्य फौजदारी मुद्दामा पक्राउ परेर छुटेका विदेशीलाई विभागले निष्कासन गर्दै आएको छ । निष्कासितको संख्या हरेक वर्ष बढ्दै गएको छ ।

पाँच वर्षमा ३५ सय विदेशी पक्राउ
पाँच वर्षमा प्रहरीले दुई हजार नौ सय ४० विदेशी पक्राउ गरेको छ । त्यस्तै, अध्यागमन विभागले करिब पाँच सय विदेशीलाई पक्राउ गरी कारबाही गरेको छ । विगतका वर्षमा भारतीय बढी पक्राउ पर्ने गरेकामा पछिल्लो समय अर्को छिमेकी चीनसहित विश्वका विभिन्न देशका नागरिक पनि पक्राउ पर्ने गरेका छन् । 

गत आर्थिक वर्षमा मात्र नेपालमा सात सय ९७ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै सार्वजनिक हितविरुद्धको कसुर र लागुऔषध मुद्दामा छन् । शान्ति–सुरक्षामा असर पुर्‍याउने गतिविधि गरेको आरोपमा एक सय ८४ तथा लागुऔषध मुद्दामा एक सय ७५ पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ७० जना चोरीमा, ५४ ठगीमा, २९ हातहतियार, १७ मानव बेचबिखन र १२ जना नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, ३९ जना बलात्कार, १५ जुवा, सात खोटाचलन र नौजना हत्या मुद्दामा पक्राउ परेका छन् । धर्म परिवर्तन, अपहरण, डकैती, आत्महत्या दुरुत्साहनजस्ता मुद्दामा पनि विदेशी पक्राउ परेका छन् । गत वर्ष विभिन्न अपराधमा जोडिएका ६४ विदेशी अहिलेसम्म प्रहरीको फरार सूचीमा छन् । 

आर्थिक वर्ष ०७४/७५ मा सात सय आठ, ०७३/७४ मा पाँच सय १९, ०७२/७३ मा चार सय ४९ र ०७१/७२ मा चार सय ७१ विदेशीलाई प्रहरीले विभिन्न अपराधमा पक्राउ गरी मुद्दा चलाएको थियो । हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ । यसबाहेक अध्यागमनसम्बन्धी अपराधमा गत वर्ष सयभन्दा धेरै विदेशीलाई अध्यागमन विभागले समेत पक्राउ गरेर कारबाही गरेको थियो ।

प्रकाशित मिति: : 2019-09-08 06:56:18

प्रतिकृया दिनुहोस्