'संगीतमय' संविधान दिवस

विधान दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गरि संविधान दिवस तथा राष्ट्रिय दिवसको स्वागत गरिँदै ।

काठमाडौं – संविधान दिवसको सन्दर्भमा सुरिलो स्वरकी धनी वरिष्ठ गायिका ज्ञानु राणाले सरस्वती बन्दनासँगै ‘कसैले बुझेन मेरो मनको बहलाई’ भन्ने गीत पस्किँदा राष्ट्रिय नाचघरको दर्शकदिर्घामा उपस्थित दर्शक लठ्डै भए । उमेर ढल्किँदै जाँदा पनि उनको १६ वर्षे जवानीको झैँ स्वरले सबै लट्ठ परे । उनको ऊ बेलाको स्वर र अहिलेको स्वरमा खासै फरक मानेनन् दर्शकले ।

उनीसँगै अर्का वरिष्ठ गायक थिए प्रेमध्वज प्रधान । पहिलेपहिले रेडियो नेपालमा खुबै सुनिने उनको स्वर नचिन्ने कमै श्रोता होलान् । सांस्कृतिक संस्थानले संविधान दिवसको अबसरमा बुधबार आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा प्रधान पनि गति गाउन तम्सिए । उनले २०१९ सालमा आफैँले गाएको पहिलो गीत प्रस्तुत गरे ।

 माया नमार मायालु, माया नमार मायालु

दिल नतोड मायालु,

हो.हो.हो...

तिम्रो र हाम्रो दिल मिल्यो राम्रो

साथ नछोडा मायालु

वरिष्ठ कलाकार ज्ञानु राणा र प्रेमध्वज प्रधानको मौलिक र लोकभाकामा गीत सुन्दा संस्कृति पर्यटन तथा नागरक उड्डयनमन्त्री गोगेश भट्टराईसहित वरिष्ठ कलाकार मन्त्रमुग्ध भए । उनीहरूले गीतको खुलेरै प्रशंसा पनि गरे ।

सांस्कृति संस्थानले दुवै वरिष्ठ गायकलाई सम्मान गरिएको कार्यक्रममा कलाकारले विभिन्न क्षेत्रका मौलिक वेषभूषासहित गति र नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए । उनीहरूले संविधानसम्बन्धी र पर्यटन वर्षसम्बन्धीका गीत पनि गाउन भ्याए । योसँगै विभिन्न ठाउँका जातजातिका मौकिल गीत र नृत्यले उक्त समारोह उत्कृष्ट बनेको थियो । 

कोटी कोटी नेपालीको ढुकढुकी र प्राण

लोकतान्त्रिक अग्रगामी हाम्रो संविधान

संविधान, संविधान... हाम्रा संविधान,

विसं २०७२ मा बनेको संविधानको विषयमा कलाकारले सुन्दर शब्द उनेर गीत पस्किँदा दर्शकहरू प्रफुल्लित भए । कलाकारले नेपाल भ्रमण वर्ष सन् २०२० पनि गीतबाटै सम्झिए ।

 हाम्रो देश सुन्दर छ, अझै सुन्दर पारौँ

 समृद्ध नेपालको पाईला अघि सारौँ

 घुम्न आउने पर्यटकलाई हाम्रो छ सम्मान

 नेपाल भ्रमण वर्षको साझा आह्वान

राष्ट्रिय नाचघरले संविधान दिवसको अवसरमा तीन दिन नै विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । सोही क्रममा नाचघर हरेक बेलुकी साङ््गीतिक साँझ बनिरहेको छ ।

यहाँ झण्डै दुई घण्टाको अवधि कलाकारले छाड्नै नहुने गरी दर्शकलाई बाँधे । समूहगत रुपमा कलाकारले गीत सङ्गीत प्रस्तुत गरेका थिए ।

मौलिक पोशाकमा सजिएर कलाकारले सुदूरपश्चिमको हुड्केली, थारुको सखिया, काठमाडौँको धिमे, राई समुदायको साकेला नृत्य देखाउँदा दर्शकको राम्रो ताली पायो ।

उनीहरू मोकिल पोषाकमा सजिएर प्रसतुत भएका थिए । 

साकेला सिकी नाचौँ है

पुर्वको रीति राखौँ है

ए, हो..इ दाजै, पुर्वको रीति राखौँ है

हा..हा, हुर्र..हा..हा..

सोई ढोले सोई... अर्काे ढोले खोई ...

 सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्माले संविधान दिवसलाई नै केन्द्रित गरेर सबै क्षेत्रको पहिचान हुने गरी सांस्कृतिक कार्यक्रम गरिएको बताए ।

यस्ता कार्यक्रमले मुलुकको समृद्धिमा सहयोग मिल्ने मन्त्री भट्टराईको प्रतिक्रिया थियो ।

प्रकाशित मिति: : 2019-09-20 00:21:49

प्रतिकृया दिनुहोस्