विदेशी पाहुनाले गरे जात्रा र सम्पदाको अवलोकन

तस्बिरः रासस

पहिलो पटक इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले काठमाडौं उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा बिहीबार काठमाडौँ आएका विभिन्न देशका नगरप्रमुख र उपप्रमखसहितको टोलीले गत शुक्रबार वसन्तपुर तथा त्यस आसपासका भित्री शहरको, शनिबार स्वयम्भू र चन्द्रागिरिको अवलोकन गरेका छन् ।

त्यसैगरी आज पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका छन् । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भुटान र जापानबाट प्रतिनिधि आएका छन्। महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न पाँच देशका ११ शहरबाट ४१ जना पाहुना आएका थिए।

विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई विभिन्न स्थानको अवलोकन गराउने क्रममा कामपाका प्रमुख विद्या सुन्दर शाक्यले जात्रा पर्व र विभिन्न सम्पदाहरुको जानकारी विदेशी पाहुनालाई गराउन पाउनु राष्ट्रकै लागि खुसीको कुरो भएको बताए।

समय छोटो भएकाले धेरै क्षेत्रलाई समेट्न नसकिएको बताउँदै उनले भने, 'फरक भूगोल र परिवेशबाट आउनुभएका पाहुनाले हाम्रा सम्पदाको रुचीपूर्वक अवलोकन गर्नुभएको छ ।'

विदेशी पाहुनाले पनि नेपाललको संस्कार र सम्पदाहरु हेर्न लायक रहेका भन्दै आगामी दिनमा पनि आउने बताएका जनाइएको छ । पाहुनाले वसन्तपुरको बःबही, ब्रह्मचक्रमहाबिहार, मञ्जुश्रीनक महाबिहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरव अवलोकन गरेका छन् ।

यसअघि पनि नेपाल आएको बताउँदै भुटानको थिम्पू नगरका प्रमुख किन्ले दोर्जीले स्थिर सरकार रहेकाले दिगो विकासको शुरुआत भएको भन्दै आगामी दिनमा झन पर्यटकीय गन्तव्य राम्रा हुने बताए।

'संस्कृतिले मान्छेलाई सामाजिकीकरण हुन पनि सघाउछ', प्रमुख दोर्जीले भने, 'नेपालमा संस्कृति र सम्पदाको थप संरक्षाण गर्न आवश्यक छ ।' पाँच दिनको भ्रमणमा आएका पाहुना सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: : 2019-09-15 19:26:17

प्रतिकृया दिनुहोस्