मन्त्री अर्यालले भनिन्– सरकारले छिट्टै देशमा सुकुम्बासी नभएको औपचारिक घोषणा गर्छ

बिएल

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जनसंख्याभन्दा जमिनको कित्ताहरू बढीरहेकोमा चिन्ता व्यक्त गरेकी छिन्। उनले अब छिट्टै सरकारले नेपालमा कोही पनि सुकुम्बासी नभएको औपचारिक घोषणा गर्ने दावी गरेकी छिन्। उनले यसका लागि अव्यवस्थित बसोबास गरेकासँग निश्चित रकम लिएर अन्तिम पटक जमिन रजिष्ट्रेसन गरिदिने र भविष्यमा राज्यले कसैलाई पनि भूमि वितरण नगर्ने गरी कानून ल्याउने बताइन् ।

विराटनगरमा मोरङ जिल्ला सहकारी संघ लिमिटेड भवनको उद्घाटन कार्यक्रममा पुगेकी मन्त्री अर्यालले आवश्यकताभन्दा बढी जमिन खण्डिकरण भएको हुनाले स्थिति भयावह रहेको बताइन्।

उनले जमिनको अत्याधिक खण्डिकरणले प्लट खेती गर्ने र उत्पादन वृद्धि गर्ने काम सबैभन्दा बढी प्रभावित भएकोमा चिन्ता व्यक्त गरिन्। उनले सहकारीको माध्यमबाट जमिनको चक्लाबन्दी गर्ने र समयदेखि नेपालमा भूमिको स्वामित्व विवाद रहेकोले त्यसलाई सँधैका लागि अन्त्य गर्न अन्तिम पटक सबै जनतालाई भूमिको मालिक बनाउने योजना रहेको बताइन्।

‘अब नेपालमा कोही पनि भूमिविहीन छैन भनेर औपचारिक घोषणा गर्न बाँकी छ’, विराटनगर–९ मा ४ धुर जग्गामा ९० लाख लागतमा ३ तले भवनको उद्घाटन गर्दै
उनले भनिन्।

मोरङ जिल्लामा ६ सय २ वचत, १ सय ४३ वहुउद्दश्यीय र २ सय ३५ कृषि सहकारी गरी जम्मा एक हजार ९९ सहकारी सञ्चालनमा रहेका छन्।

जिल्लाका सहकारीले वार्षिक आठ अर्व ४७ करोड निक्षेप संकलन , ११ अर्व १० करोड कर्जा प्रवाह र २६ अर्व आर्थिक कारोवार हुने गरेको छ। सहकारीमा ३ लाख १५ हजार शेयर सदस्य रहेका छन्।

उक्त कार्यक्रममा प्रदेशसभाका सदस्य यशोदा अधिकारी, सहकारी महासंघका प्रदेश संयोजक रमेश पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल , ईन्जिनियर कमलेश्वर ठाकुरलगायत उपस्थिति समेत रहेको थियोे ।

प्रकाशित मिति: : 2019-09-15 18:29:49

प्रतिकृया दिनुहोस्