सार्वजनिक निजी तथा साझेदारी विधेयक पारित

तस्बिरः बिएल

प्रदेश नं १ को पदेशसभाको आज बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय, २०७६’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेश गरेका थिए। उनले सो विधेयकले प्रदेशको विकासमा कोशेढुङ्गा सावित हुने भन्दै विकास र समृद्धिको यात्राको बाटो खुल्ने चर्चा गरे।

विधेयकमा अर्थ समितिद्वारा प्रस्तुत भएको प्रतिवेदनमा प्रदेशसभा सदस्य विमल कार्कीले दफावार छलफल र विज्ञहरुको राय सुझावबाट परिपक्व भएको विधेयकले प्रदेशमा आर्थिक लगानीका सम्भावना उजागर गरेको भन्दै आयआर्जन र रोजगारी सिर्जनामा विधेयकको भूमिका अतुलनीय रहने बताए। प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम सामाजिक विकास समितिका सभापति सरिता थापाले वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए।

वैज्ञानिक व्यवस्थापनका नाममा वन सखाप हुँदै

बैठकको प्रारम्भमा शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले वैज्ञानिक वनका नाममा वन सखाप भइरहेकाले यसको निगरानी गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए। उनले दक्षिणी क्षेत्रका जनताका लागि कटान गरिएका रुख वन माफियाका हातमा पर्ने गरेकाले वन सखाप हुने चिन्ता व्यक्त गरे।

सदस्य उषाकला राईले प्रदेश सरकारले सार्वजनिक गरेको वार्षिक बजेटमा विभेद भएकाले पहाडी क्षेत्रमा बसोबास गर्ने जनताका चाहना र आवश्यकता पूरा नहुने कुरामा जोड दिए।

अर्का सदस्य वसन्तीदेवी यादव थारूले यादव जातिले मनाउने जितीया पर्वमा सार्वजनिक बिदा दिन प्रदेश सरकारसँग माग गरिन्।

सदस्य राजकुमार ओझाले प्रदेशसभामा खाँदिएर कहिलेसम्म बस्ने भन्दै सभामुखसँग सभालाई व्यवस्थित बनाउन कुर्सी र मेचको राम्रो प्रबन्ध गर्न माग गरे। उनले चाडपर्वका सन्दर्भमा प्रदेशभरिका कच्ची सडकमा देखिने खाल्डा पुर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।

प्रदेशसभाको अर्को बैठक यही भदौ २९ गते अपराह्न २:०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराए।

प्रकाशित मिति: : 2019-09-13 17:50:49

प्रतिकृया दिनुहोस्