लगानी सम्मेलनको उपलब्धि- ३१ परियोजनामा २५ खर्बको आवेदन

तस्बिरः नागरिक

काठमाडौं - लगानी सम्मेलनपछि ३१ परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताबाट ४८ वटा आवेदन प्राप्त भएका छन्। लगानी बोर्डका अनुसार विभिन्न मुलुकका लगानीकर्ताबाट प्राप्त ती आवेदनको कुल लागत करिब २५ खर्ब रुपैयाँ छ।

लगानी सम्मेलनमा ‘सोकेस’ गरिएका ७७ वटा परियोजनामध्ये २६ वटामा ४३ वटा आवेदन प्राप्त भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले जानकारी दिए। त्यस्तै, सोकेसमा समावेश नभएका थप पाँचवटा नयाँ परियोजनामा लगानी गर्ने आवेदनसमेत विदेशी लगानीकर्ताबाट प्राप्त भएका छन्।

हालसम्म प्राप्त आवेदनमध्ये सबैभन्दा बढी यातायात पूर्वाधारका परियोजनामा छन्। लगानी बोर्डका अनुसार यातायाततर्फ नौवटा परियोजनामा २२ वटा आवेदन दर्ता भएका छन्। जसको कुल लागत करिब १६ खर्ब रुपैयाँ हुने उल्लेख छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा बढी ६ वटा आवेदन परेका छन्। त्यस्तै, काठमाडौंको चक्रपथमा बस ¥यापिड ट्रान्जिट (बिआरटी) निर्माण परियोजना र बाहिरी चक्रपथ परियोजनामा चार–चारवटा, सामाखुसी–टोखा–छहरे रोड र धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुई–दुईवटा आवेदन दर्ता भएका छन्। काठमाडौं उयपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र काठमाडौं स्काई ट्रेन परियोजनामा एक–एक वटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ।

प्रकाशित मिति: : 2019-04-22 08:47:16

प्रतिकृया दिनुहोस्