चिठ्ठा पर्‍यो भन्दै १५ करोड ठगी, तीन जना पक्राउ

तस्बिर: बिएल

चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार रहेका छन्।

भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ।

उनीहरुले नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए। पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरुले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउँथे। हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको र उनीहरुले रकम कारोबार गर्न प्रयोग गरको बैंकहरु समेत ह्याक भएको हुनसक्ने प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

उनकाअनुसार अहिलेसम्म १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। अरु पनि यसरी ठगिएको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2019-12-11 14:05:23

प्रतिकृया दिनुहोस्