सुटिङमा भारतलाई १७ स्वर्ण

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोलका दुवै इभेन्ट्समा भारतल नै स्वर्ण पदक जितेको छ। सुटिङका २० मध्ये १७ वटा स्वर्ण पदक भारतले जितेको छ भने २ वटा स्वर्ण पदक पाकिस्तानले हात पारेको छ। नेपाल अहिलेसम्म सुटिङमा पदकविहीन छ। सुटिङको एउटा स्वर्ण पदकका लागि सोमबार प्रतिस्पर्धा हुने छ।

आइतबार १० मिटर एयर पेस्तोल पुरुषमा भारतका श्रवन कुमारले स्वर्ण पदक जितेका हुन्। सातदोवाटोस्थित सुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उनले २४१.५ अंकका साथ स्वर्ण पदक जित्दा पाकिस्तानका गुल्फान जोसेफले २३७.२ अंक जोड्दै रजत पदकमा चित्त बुझाए।

भारतका रविन्दर सिंहले कास्य पदक हात पारे । उनले २१६.६ अंक बनाएका थिए। यसैगरी श्रीलंकाका तन्थुलंगो डी.एस फर्नान्डो १९४.७ अंकका साथ चौथो स्थनमा हुँदा भारतका सुमित रमन १७५.५ अंकका साथ पाँचौं स्थानमा थिए। यसैगरी पाकिस्ताकन रसिद इद्रिस १५५.५ अंकका साथ छैटौं स्थानमा रहँदा बंगलादेशका सकिल अहमद १३४.६ अंकका साथ सातौं र सोही देशका अब्दुर रज्जाक ११४.९ अंकका साथ आठौं स्थानमा रहे। यस स्पर्धामा नेपालका विपेश खड्का, सुकदेव चौधरी र बदरुद्दिन अन्सारीले छनोट चरण पार गर्न असफल भएका थिए।

यस्तै १० मिटर एयर पेस्तोल पुरुषको टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ। भारतका सुमित रमन, रविन्दर सिंह, श्रवण कुमारको समूहले १७१३ अंकका साथ स्वर्ण पदक जितेको हो।

यस्तै बंगलादेशका अव्दुर रज्जाक, सकिल अहमद, मोहम्मद सब्बिर अलमिनको समूहले १७०२ अंकका साथ रजत पदक हात पार्यो।

त्यस्तै पाकिस्तानले यस इभेन्टमा कास्य पदक जित्न सफल भयो। पाकिस्तानका गुल्फान जोसेफ, कलिम उल्लाह र रसिद इद्रिसले १६९५ अंकसहित कास्य जितेका हुन्।

यो इभेन्टमा नेपाली टिम चौथो भयो। नेपालका बदरुद्दिन अन्सारी, विपेश खड्का, सुकदेव चौधरीको समूहले १६५५ अंक जोडेको थियो।

पाँचौं स्थानमा श्रीलंकन टिम आयो। श्रीलंकाका मौदिसेल्गे एस.एम.डी. दिसानायके, सुरंगा विडामंगे, र थलुंगे डी.एस. फर्नान्डोको समूहले १६५१ स्कोर गरेको थियो।

प्रकाशित मिति: : 2019-12-08 18:32:40

प्रतिकृया दिनुहोस्