भात खाने छुट्टीमा टर्की स्यान्डविच खाँदै गर्दा म फेसबुकका पाना हुर्याउदै खाइरहेको थिएँ। कुनै फेसबुकेको कुरा सुनेर एक्कासी मैले खित्का छोडिहालेछु। छेवैमा बसेर खाइरहेकी ३० बर्षे क्यानेडीयन साथीले सोधी किन हाँसेको भनेर। मैले अर्थ्याएँ। उसले त यो सब बेकार हो हेर भनी। हुन त ऊ नि मोबाइलमै झुत्ति खेलिरहेकी थिई। खोइ केमा थिई।
‘फेसबुक, ट्वीटर, वाटएभर ग्राम, ब्ल्हा ब्ल्हा आर अल गार्बेज फर ह्युमन बिइंग। दे आर नट नेसेसरी फर यु, बट यु थिङ्क दे आर बिकज यु आर समहाउ एडिकटेड टु दम।इट इज लाइक ए ड्रग, दोज हु युज ड्रग्स से इट इज नेसेसरी’ उसले त क्यानेडेली सरकारले हालसालै खुल्ला छोडेको ‘शिव बुटी’ नै करार गरेर भनी सोसल मिडियालाई।
अनि तेरो फेसबुक, गुगल प्लस, इन्स्टाग्राम, ट्वीटर केही छैन त?
मलाई किन चाहियो यो सब? मसँग बातचित गर्न समय बिताउन मेरो परिवार छ, साथीभाइ छन्, फुर्सदमा पढ्नलाई किताब छन्, सिनेमा हेर्नलाई र समाचार सुन्नलाई घरमा स्मार्ट टिभी छ, अलिअलि करेसामा खेतीपाती गर्छु, व्यायाम गर्नलाई सरकारका सुबिधाकेन्द्र छन्, शिक्षकको पेसा गर्नलाई पुग्ने ज्ञानमा अद्यावधिक छु र जाँगर पुगिसरी छ, वन जंगल पाखा पर्बत चाहर्छु, साइकल कुदाउन जान्छु गाउँतिर फुर्सदमा। खोइ कतिबेला मलाई सोसल मिडिया चाहिन्छ? यो नभई चल्दै चलेन भन्ने तेरो जस्तो सोच नै आउन पाएको छैन मलाई।’
अनि किताब पढेको, ब्यायाम गरेको, गाउँमा साइकल कुदाएको, पाखापखेरा कुदेको, तेरो लोग्नेसँग दायाँ घुमेको, बायाँ फर्केको, आलु फलाएको लोकलाई देखाउनु पर्दैन तैंले? मेरो जिस्क्याउने प्रश्न।
‘म के गर्छु, के खान्छु, के लाउँछु, कहाँ जान्छु अरुलाई किन देखाउने? म अस्ति हवाइ गएर आएँ अनि खिचेका फोटा परिवारका मान्छे बसेर डिनर पाटी गर्दै बडेमाको टिभि स्क्रिनमा क्रोम्कास्ट गर्दै हेरियो, खुब आनन्द भो। हजुरआमाले फोटा हेर्दै उनका बेलाको छुट्टी मनाइका कथा हालिन्। खुब मज्जा भो’ यो एक्काइसौँ सताब्दीमा पनि उसले झन्डैझन्डै बाउबाजेकै जीवनशैली बाँचेको कथा हाली।
हाम्रो समाजमा खाएको लाएको देखाउनुको, प्रदर्शन गर्नुको ‘छड्के तिलहरी चिन्तन’ कति रबाफी शौकतको कुरा हो भन्ने उसलाई के थाहा बरा भन्ने ठानें मैले।
‘अनि मान्छेसँग बिमति भयो भने वा कसैले केही कुरा लायो भने आफ्नै पुच्छर लिंडे हुने कुरा बिर्सेर खौरिनु पर्दैन अरुलाई तैंले फेसबुकमा? मैले नेपाली पाराले जिस्क्याएँ।
‘वाट? यु मिन युजिंग पिपल टार्गेटेड एब्युसिब ल्याङ्ग्वेज अन सोसल मिडिया? यु गेट इन ट्रबल द्याट वे, वाट्स रंग विद यु टुडे?’ उल्टै मेरो प्रश्नमै पो गडबडी देखाउदै मज्जाले जिस्क्याई मलाई।
फेसबुक पुछ्रेको केही काम छैन भन्दै उसले आझै कति थोक फलाकी फलाकी।
पश्चिमाहरुको सोसल मिडिया चलाउने पारा हाम्रो भन्दा अलिक भिन्न देख्छु देख्न ता। उनीहरु हामी नेपालीजस्तो जतिखेरै यसैमा झुत्ति खेलिरहदैनन्। कम्तिमा मेरो पुस्ताकाले हामीजस्तो गर्दैनन्। उनीहरुको फेसबुक खाता त हुन्छ तर फाट्टफुट्ट मात्रै फोटो हाल्छन्, लेख्न त झन् कम लेख्छन्। प्राइभेसी र गोपनियताका कुरामा अति नै संवेदनशील गोरागोरीहरु छोराछोरी, परिवारका फोटो हाल्नमा त अझ बढी सोच्ने गर्छन्। हाम्रोजस्तो सर्बसाधारण जनताका हजार, दुई हजार, चार हजार साथी त उनीहरुका बिरलै हुने रहेछन्। फेसबुकमा साथी बनाउँदा नि सोचेर बनाउने र स्वीकार गर्ने उनीहरु। हामीजस्तो कहिले नदेखेका नचिनेका मान्छेको मित्रता आनुरोध हम्बेसि लिंदैनन्। १० बर्ष भयो फेसबुकमा आएको,चार सय, तीन सय, छ सय साथी छन् भन्ने त कति हुन्छन् कति। हामी दैनिक जीवनमा जेजे गर्छौं, लाउँछौं, खान्छौं, जेजे देख्छौं त्यो सबैथोक फेसबुक र ट्विटरका लागि भएको हो जस्तो गर्छौं तर उनीहरु यति अचाक्ली गर्दैनन्।
आज के दसाले यो एक्लो बृहष्पति, यो अपवादसँग जुध्न पुगिएछ भन्ने लागेर बाहिर आज कति घमाइलो है भन्दै कुरा घुमाएँ मैले। तर उसका कुराले मनमा भने एक किसिमको औडाहा कुदायो। फेसबुक र टुइटर बाहिर जीवनको यस्तो सरल जियाइ? होइन यस्तो गरेर नि बाँच्न सकिने रछ त? प्रश्न उठे र बिलाए।
फेसबुकबारे उसका जति ‘एन्टि करेन्ट’ कुरा सुने पनि मेरो मन आफ्नै ठेगानमा आउन खोजिहाल्यो फेरि। मनको तराजु यसका फाइदातिरै ढल्किहाल्यो फेरि।
सोसल मिडियाबारे अनुसन्धानकर्ता र विश्लेषकहरुले ठम्याएका दुखदायक प्रभाव बिपरित नजरलाइहेरें–अभिव्यक्ति स्वतन्त्रतामा खास जनताको अधिकार जनतालाई, गाउँको अधिकार गाउँलाई त फेसबुकले जति केहीले दिएको छैन नि। गणतन्त्रले भन्दा नि अग्घोर।
सर्बसाधारणका बाख्रीमाँले जोर पाठा पाएको, काँक्राको खैपी अमिलिएको, बारीको डिलमा निबारो पाकेको कुनै कान्तिपुरले छापिदिन्थ्यो हाम्रो?
अंगरक्षक लिएर बसेका मुहानका ह्वेल भ्रष्टचारीलाई, माफियागिरि चलाउनेलाई छुन चलाउन नसकिए नि गाउँका खरिदार, बहिदार जस्ता भुरा भ्रष्टचारीको र स्वेच्छाले माया पीर्ती साट्न एकान्त रोजेर बसेका लैलामजनुहरुको कठालो निमोठ्दै खिच्दै देखाउँदै गर्ने जन–स्वायत्तता दिने अरु कुनै बुक नभएर फेसबुकै हो।
किसानको बाउसे चल्दैगरेको, मैजारो नै सकिएर बलीको बोकोको भित्र्याँस पखाल्दै गरेको,जनताका छोराछोरीले बिहे गरेको, गर्भधारण नै गरिसकेका लोकका छोरीबुहारीको पेट लुकेको कि फुकेको भन्ने कुराले कहिले भाउ पायो हाम्री आमाका पालामा अथवा फेसबुक पहिले?
गरीब दुखीलाई नि हजुरबा हजुरआमा बन्ने मौका दिलाउदै अस्पतालमा फुत्तफुत्त निक्लिने नातिनातिनाका बाफ उड्दा उड्दैका तस्बीर मान्छेलाई देखाउन पाए हाम्रा जिबाहरुले हाम्रा बाउआमा जन्मिदा? सुत्केरी आमाले राम्ररी आफ्नो लुगा नि सम्हाल्न नपाउदै रगतपच्छे आलो नालको शिशुको तस्बीर अस्पतालको ओच्छ्यानबाटै कहीं कतै छापिएको, समाचारमा निक्लेको थियो र फेसबुक्याइँ पहिले? हाम्रा प्यारा शिशुको यस मर्त्यलोकमा भएको सुखद् आगमनबारे कसैले सोधिखोजी गर्थ्यो फेसबुक नभएको भए? दरबारका छोरीबुहारीलाई मात्रै यस्तो भाउ थियो पहिले। अब ती दिन फेसबुकले खाइदिएको छ। आम आदमीका श्रीमती, छोरी, बुहारी, भान्जी, भतिजीले पाएको मान्छे, गरेको न्वारान, फेरेको डाइपर पनि देखाउन लायक, समाचार बनाउन लायक गराइदिएको छ सोसल मिडियाले।
राजा, रानी र युवराजका जन्मोत्सवले पाउँथ्यो लोकलोकावर फैलिने मौका। पहिले पहिले ठुलाबडाले, पैसाका कुबेरले मात्रै रेडियो, टिभीमा,पत्रिकामा खुबै निकाले दुर्गा माता र लक्ष्मी माताका शुभकामना निकाल्थे दशैं तिहारको औसर पारेर। उनैले मात्रै छपाउन सक्थे ‘हार्दिक समवेदना’ नामका कागजी आँसुका भेलबाढी। फेसबुकले सता तल घरघरमा ओराल्यो। अहिले हेर्नुस् त गाउँका लोहार्नी आँमै, पूर्व प्रधानमन्त्री, पुरेत बा, आले काका, फौजीको पूर्वजर्नेल, पासवान बजै जो जसले आफ्नो मर्त्य भोग सकेर लागोस बिना भेदभाव आर.आइ.पि. ‘रिप’ जडेर सक्दो रिप्न पाइएको छ। अहिले आफ्नी प्यारी बेटिया बुधनदेवीको जन्मदिनलाई सचित्र फोटो घिचेर लोकार्पण गर्न कुन गंगु तेलीलाई कुन बौवा आएर छेक्न सक्छ?
नागपंचमीमा गोमन सापले तपाईंको रक्षा गरून्, माघेसंक्रान्तिमा तरुलभ्याकुरले छेरौटी नचलाओस, जनैपूर्णिमामा जनैले शुभ ल्याओस्, साउने सक्रान्तिमा हरियोपरियो र मेहन्दी पुगिसरी होस्, सोह्रश्राद्धमा पितृले माथिबाट नबोलाऊन् धरी भनेर सङ्गीतमय सुर र तालका दोहोरी शुभकामना दिदो दिन नदिदो कोच्याउन सार्बभौम ढंगले पाइएको छ।
समाचार सुन्न कि बिबिसी, कि अल इन्डिया नेपाली सेवा, कि त रेडियो नेपालमा धुरिनु पर्थ्यो हामीले। त्यो नि धेरैजसो राजाका, राजधानीका र नेताका मात्रै कुरा सुनाउथ्यो। अब ठुलाका मात्रै समाचार बन्ने दिन गएका छन् फेसबुकले गर्दा। ‘अहिले प्रत्येक व्यक्ति प्रत्येक घरबार, केही न केही बनाऊ समाचार’ भन्ने नारामा काम भएजस्तै भएको छ। केही नपाए ‘आजको दोपहर नास्ता’ भनेर प्लेटभरिको समोसाचाट देखाए नि भैगो। ए फलानाले आज भोकै बस्नु परेनछ, मीठो खाजा खाएछ भन्ने बुझ्न पाइयो। अझ नेपालगन्जको चाट पो चाट भनेर जनताका रोजाइ र खवाइमा बहस बढाउन सकियो।
फेसबुक थिएन भने बेहुलो भएको १२ बर्षपछि सबैका मुखाँ एकाएक बुजो लाउदै माथ्ला घर कुले दाइ छोराको बाउ भएको दुई हरफे समाचार र नाल काट्दाकाट्दैको उसको ताततातो छोरो मैले सात समुन्द्रपारि बसेर कसरी हेर्न पाउँथे हाताहाती। अस्ति मुसहर्नी कान्छीलाई बोक्सी भनेर असतिहरुले मानव बिष्टा कोच्याएछन् मैले घण्टा नबिती थाहा पाइहालें।
धुने कार्कीले छोरी अन्माएछ टाइसुट धडेर भर्खरै। तस्बीर आफैं बोल्यो, बुझिहालें। कामकी मिसिन भएर लोत काढिएकी कर्किनी भाउजु नि झुत्राझाम्रा फालेर लिपिस्टिकले रातै भएर सम्धिनी भेटमा भाँती पारेर प्रश्तुत भइछन्। छोरी संगीताले ‘नो क्याप्सन’ शीर्षकमा हालिछे, भन्नै परेन बुझिहालें। उनका पनि दिन आएको थाहा पाइहालें। आफूले जान्दादेखि गाउँमा नुनभुटुन खुवाउने माथि बजारको भगवानदास कैंयाले नि परलोकको बाटो लिएछ। सात समुन्द्र पारि बसेर नि मैले तल गाउँमा बाले थाहा पाउनुभन्दा पहिले नै जानिहालें।
हर्राबोटे बडाउको परालको माचबाट लडेर हर खुस्केको, तासको जितौरी खानेमा पर्दा रनले गनेलाई हानेर गेडी खुस्काएको, चोरले पुलिस पड्काएको र पुलिसले चोर पड्काएको जम्मैथोक हेर्न फेसबुकबाहेक अरु कुनैबुकमा पाइन्छ? भन्नुपर्दा फेसबुक आएपछि महाभारतको संजयलाई जस्तो दूरदृष्टी मिलेको छ सबैलाई।
मान्छे दुखेर कुन अस्पतालमा छ, कसलाई कति सिलानीपानी चडाएर सुताइएको छ फेसबुकले कृपा गरेर ल्याइहाल्छ आँखैमा ठोक्काउन। को कहाँ कसलाई तुलशाको मोठमा लडाएर सास छउन्जेल आस कुरिबसेको छ, कसको कहाँ हेर्दाहेर्दै वाक्य बस्यो, कसका कानका लोती फर्किएर नयनले आकाश हेर्यो मिलिकका मिलिक निकालिहाल्छ। देह त्यागेपछि पैसाको टिको लाएको कसको मुखडा कस्तो देखियो अन्तर्यामी प्रभुले जस्तो घर बसीबसी जान्न पाइएको छ।
देसदेसावरमा कहाँ के भयो तुरुन्त जान्न मिलेको छ।आफूले र आफ्ना छोराछोरीले खाएको, लाएको, पाएको, घुमेको, उठेको, बसेको, खेलेको, नाचेको, हाँसेको, रोपेको, उमारेको, देखेको देखाउन पाइएको छ र अरुका नि तततत् कुराको दर्शन मिलेको छ।
तर, मेरी गोरी साथी भन्छे फेसबुकबाट यस्ता कुरा थाहा पाएर तेरो जीवनमा कति बदलाव आउछ? के महत्व छ तेरो जीवनमा यस्ता फास्फुसे कुरा जान्नुको? यस्ता कुरा थाहा पाएर सुखी भइन्छ? तेरो काम, जागिरको व्यवसायिकतामा निपुणता ल्याउछ यसले? तँलाई थाकेर आएको बेला एक पेला कफिले बढी खुसि दिन्छ कि तेरो फेसबुके साथीभाइका फेसबुके प्रदर्शनीले? तँ कहाँ जान्छस्, कुन वेब साइट खोलेर के हेर्छस्, के किन्छस् सबैकुरामा जासुस पछि लागेका हुन्छन् सोसल मिडियामार्फत। यस्ता सहस्र प्रश्न र चेतावनी गर्छे मलाई ऊ।
फेसबुक भन्छ तैंले मेरो मोहनी मायाजालमा ज्यान फालेको १० बर्ष हुन लाग्यो। सन् २०१० को एप्रिलमा मैले यसको खाता खोलेर समय खर्चिन थालेको रहेछु। त्यही दिन कसैले लग्न छोपेर बिहे गरेको रछ र अर्को बर्ष बच्चा जन्माएको हो भने नि त्यो भुरो नौ बर्षको भइसक्यो अहिले हुर्केर। एउटा नौ बर्षे भुरोको सिङ्गै ज्यान बराबर त मेरो फेसबुके उमेर नै भइसक्यो।
यो बीचमा फेसबुकमार्फत आफूले कति केके देखाइयो, कति मनका बह पोखियो, कतिलाई लाग्या कुरा बोल्नाले बिझाइयो पनि होला लेखा छैन। कति ककसका कुरा, बिचार, हितोपदेश पाइयो, तर्क सुनियो, ज्ञानगुन र सूचना आर्जन गरियो बही छैन। कति खातापिता नृत्यका ‘नितम्ब लाइभ’, ‘समुन्द्रपार ममचा लाइभ’, मस्तीका दुसरा नाम ‘दारु एण्ड तन्दुरी लाइभ’ हेरियो हेराइयो, हिसाब माथि चित्रगुप्तले राख्या होला।
भगवान कृष्णले गीतामा अर्जुनलाई चराचर जगतका सबैथोक मै हुँ, र अन्त्यमा सबै मैमा मिल्न आउछन् भनेर आफ्नो विश्वरूप बर्णन गरेका छन्। त्यही विश्वरुपको ठाउँ लिएको छ फेसबुकले हाम्रो जुगमा। चराचर जगत देखिन्छ फेसबुकमा। मान्छेले र गैर–मान्छेले गरेका काम क्रियाकलाप गोजीको एउटा मोबाइल भनिने ठुन्को निकालेर बोल्न पाएसम्म र खिच्न पाएजति मान्छेका के निजी के सार्बजनिक लाभका कुरा जम्मै जताबाट नि गोलमटोल यही फेसबुक्याइँ मा थुर्न आइपुग्छन्।
मानव जीवनका बिराट सत्य जन्म र मृत्युसहित बीचका कर्म, संस्कार, चिन्तन, चिन्ता, धाँक, धमास, चेतावनी, आरिस, रिस, कामना, श्राप, कुण्ठा, दम्भ, बठ्याईं, आर्जन, मनोरन्जन, प्रगति, सिर्जना, साधना, प्रीति, बिछोड, आचार, बिचार, भ्रष्टाचार, व्यथा के मात्रैले समाबेशी अधिकार र ठाउँ पाएन र हाम्रो फेसबुक्याइँ का कारण।
गोरीले मलाई उसै किन सेपेको सेपेई गरी त? फेसबुक हुँदाका बेफाइदा बुझ्न फेसबुक नहुदाका कुरा नहेरी नहुने ठम्याएँ मैले। ब्याङ्कको खाता खोलियो भने गच्छेअनुसार बचतै हुन्छ तर फेसबुक्याइँ को खाता खोलेर खुब खर्च भएको छ, त्यो नि समयको। भइरहेको छ। मान्छेको ध्यान ठेगानमा छैन, छेवैमा छ बोलाएको सुन्दैन। एकैछिन फुर्सद मिल्यो भने गोजीबाट त्यो जादुमयी पाप्रो ननिकाली पाँच मिनेट उसै टहल्न सक्दै सक्दैन।
श्रीमान् श्रीमतीलाई आपसमा मुस्काएर, आँखा जुधाएर, प्रेम दर्साएर बोल्न खाँचो पर्नै छोडिसक्यो। आँखा नजुधाई नबोलिकन नहुने दैनिक घरबारै नचल्ने आधारभूत कुरा मात्रै हुन थाले अब जोइपोइ बीचमा पनि। त्यो पनि मन लागी हो कि मन नलागी नलागी हो छुट्याउन हम्बे छ। डिभाइसमा घोप्टेको उँधोमुन्टो उठाएर जतिसक्दो जिउँदा मान्छेसँग बोल, खित्का छोड, अनुहारका भाव पढ र हार्दिकता साट, प्रकृति, माटो, खोलासँग रमाउन निस्क तिम्रो कूल ग्राह्यस्थ खुसी बढ्छ, मनोरोग घट्छ भनेर परामर्श दिने विज्ञहरुको पेसा फस्टाउन थालेको छ अहिले।
कति मानवीय गन्थनविलास हुन्थे हाम्रा बाउआमा, काकाकाकी, फुपूफुपाजुबीचमा हामीले नै देखेको। खमारमा गुनगुन गरेर दिन बित्थे मान्छेका। काका बाउहरको भेट हुँदा अंगेनामा गन्थन गरेरबस्दा आगो निभेर खरानी नि उडिसकेर आधा रात ढल्केको पत्तो पाउदैन थे। नाइट बसमा सयौं पल्ट ओहोरदोहोर गरियो राजधानी र घर। बिना फोन रातबिरातको लम्बेतान यात्रा कटेकै थियो। कहीँ केही वा कसैलाई कुर्नु छ र साथमा मोबाइल र फेसबुक छैन भने कसरी सम्भव होला अब कुर्न? अहिले वाइफाइबाहिरको सन्सारमा एकैछिन अडिएर बस्नु त माछालाई पानीबाट निकालेर बगरमा उतानो पार्नु जस्तै हुन थाल्यो।
काठमान्डूका स्मार्टफोनरहीत ती दिनहरु सम्झिन्छु। नानीकी आमा बिहान भान्छामा लाग्दा म आफूलाई मन परेको किताब आधाउधी पुर्याइसक्थें। अहिले वाइफले किचनमा काम गरेका दिन मलाई वाइफाइमा झुन्डेर नै फुर्सद हुन्न।
समाज र परिवारलाई फेसबुकमा निर्भर बुद्धिजीबिहरुले ढाक्दैछ बिस्तारै जो उत्तेजक र घृणाका कुरा बोलेर बुद्धि र विश्लेषणमा निर्वाण प्राप्त गरेको ठान्छ, सबैलाई सबैथोकमा सिकाइहाल्न तम्सिन्छ र सतही र छिपछिपे ज्ञानको आत्माभिमानमा बाँच्छ।
फेसबुक र टुइटरमा अहिलेको मान्छेले लगानि गरेको मानसिक उर्जा र समय देखेर त लाग्छ अब ज्ञान, आविष्कार, अन्वेषण, दर्शन, इतिहास, धर्म, कला, चिन्तन, साहित्य, शास्त्र, कीर्ति, अध्ययन, अध्यात्म, पुरातत्व आदिमा पुर्बजहरुले जस्तो बैभब आर्जन गर्ने कुरा त परै जाओस प्राप्त उपलब्धिको रक्षा र प्रयोग नै उहिलेका कुरा खुइले हुने देखिदैछ।
तपाईं कुनै राम्रो पुस्तक पढेको कुरा सचित्र राख्नुस फेसबुकमा कसैले बाल दिदैन। तपाईं उफ कतिसम्म पतित हुन सकेका मान्छे, जसको जौ खानु उसैको जगल्टा लुछ्नु’ भन्ने एउटा फेसबुके तारो हानेर हेर्नुस् त मान्छेले कसरी ठाडा कान लाउछ! व्यक्तिलक्षित यस्ता रोनाधोना सोसल मिडियामा लेख्नु आफ्नै गिडगिडे पहिचानबारे दुईचार जनालाई गफिने मौका दिनु पनि हो भन्ने बुझाइ तपाईंसँग हुनु नहुनु तपाईंको कुरा।
एकजना युकेबाट निम्त्याइएको एउटा विद्वानले तालिममा भन्थ्यो ‘अनलाइनमा मिडियाका कुरा मात्रै पढेर लाइफ चेंजिंग खुराक केही पाउने आसा कहिले नगर्नू, मान्छे बदलिन, संसार बुझ्न, काम र व्यवसायमा सफलता हासिल गर्न र सुखले बाँच्न मान्छेका हातमा पुस्तक हुनैपर्छ।’ तर, हाम्रो वाइफाइ जमानामा यस्तो नहुने भो जस्तो छ अब। खोइ तपाईं पढ्नुहुन्छ कि रु म त काम, निन्द्रा र घर, परिवारधन्दाबाट उब्रेको अलिअलि समय यही फेसबुक र वाइफाइमा लाइरहेको छु भन्दा नि हुन्छ।
डिजिटल युग आयो। मान्छे करले आफ्नो डिग्रीका किताबबाहेक केही किताब पढ्नै छोड्यो। कि युट्युब खोल्यो र क्षणिक मनोरन्जन दिनेवाला ट्रेडिंग भिडियो हेरेर बस्यो, कि फेसबुक्याइँ गरेर बस्यो र दिन बार नक्षत्रको अतोपतो नपायो। कि त इन्स्टाका फोटोमा भुल्यो वा ट्वीटरका चिरबिरमा लहसियो। यिनै थोकबाट जेजे आउछन् त्यहीबाट आफ्नो विज्ञ धारणा बनायो अनि दुनियाँ चलाउन खोज्यो। सोसल मिडिया नखोलि दिनरात नढल्ने लगभग सबैको नियति हो यो आजको। मेरो होइन तेरो चाहिं हो भन्ने नै भएन।
सोसल मिडिया आधुनिक जीवनशैलीको अकाट्य ‘कन्टेन्ट’ जस्तै भएको छ। तर, मानव समाज र व्यक्तिवृतमा यसको प्रभाव सुखदायक मात्रै छैन भन्ने बहस बाक्लिन थालेको छ।
सोसल मिडियाबाट आफूबाहेक जम्मैलाई सिकाउन,अमृत बचन दिन, गालिसराप बगाउन सकिन्छ। मान्छेका अराजक सोच, भ्रामक कुराहरुको बेलगाम प्रचारप्रसार, अरुका आर्जन र सफलताले मान्छेमा ल्याउने असहिष्णु सोच र ब्यबहार, बिचलित मानसिक स्वास्थ्य, र सोसल मिडियामा बोलेपछि सबै कुराको समाधान आउँछ ठान्ने मान्छेका मनोदुस्ख फस्टाउने उर्बर भूमि हो सोसल मिडिया भन्ने विश्लेषक, अनुसन्धाता, मानवीय प्रवृतिका अध्येता उतर अमेरिकाका धेरै विश्वविद्यालयमा छन्।
घरमा स्वास्नीसँग बिहान भनाबैरी भयो भने बेलुका श्रीपुरुषहरुका भावनाका छालहरू लुकामारी खेल्दै फेसबुकमा कसेर धसेर प्रकट हुन्छन्। के भन्न खोजेको हो, बरु भीरको कुलो कता लाने भन्न सकिएला तर श्रीमान साहित्यको अलंकार बुझ्न टिबिसन नै लिनु जस्तो हुन्छ। बेलुका लौनेसँग चर्काचर्की पर्यो बिहान निक्लिन्छन् बौलाउनुभन्दा मर्नु निकोका साहित्यिक नागबेली बान्कीहरु। कसैले कसैकाबारे बजारमा के कुरा लाउँछ अनि त्यो बोली टिपेर मान्छेले घुमाएर खिप्छ कसैलाई फेसबुके सहाराले।
फेसबुकको छातीमा टेकेर एउटी सौताले अर्की सौतालाई पित्त छाद्ने गरी तोबर्का हान्छे। दाजुभाइले, नन्दभाउजुले सिकाइदिन सक्छन् सबक र सोमत यही फेसबुकमा उभिएर एकअर्कालाई। कोही तर्क गर्न तम्सिन्छ फेसबुकमा र अरुका बिचार सहन नसकेर कि बाङ्गो हिंड्छ कि ब्लक नै हान्दिन्छ। सोसल मिडियाका यी सबै कर्म र वचन मान्छेका आफ्नै दुःखका मुहान हुन् सुखका होइनन् भनेका छन् केलाउनेहरुले।भर्खरै एमनेस्टी इन्टरनेसनलले गुगल र फेसबुक मान्छेका वैयक्तिक गोपनियता र अधिकारका लागि खतरनाक भएको घोषणा गर्यो।
बिभिन्न रेडियो शो र टिभी शोहरुमा यस विषयमा विश्वविद्यालयका सोसल मिडियाका विज्ञ, विश्लेषक ‘फ्याकल्टिज’हरुसँग बिचार मन्थन चलिरहेको सुन्न हेर्न पाइन्छ। सोसल मिडिया आएपछि सामाजिक न्याय र असल शासनमा आम मानिसको तहबाट शसक्त हस्तक्षेप हुन सकेको, शासकहरुलाई अलिक बढी जवाफदेही बनाउन सकिएको, उपभोग्य वस्तु तथा सेवाको प्रबर्धन सजिलो भएको, संसारभर पर्यटन उद्योगलाई योगदान पुगेको आदि सोसल मिडियाका सकारात्मक कुरा पनि देखेका छन्। तर मानवीय सम्बन्ध, मानसिक स्वास्थ्य, सकारात्मक सोच, भाषिक शिष्टता र आपसी हार्दिकतामा तीब्र क्षयीकरण भोग्दैछ समाजले सोसल मिडियाको कारणले भन्ने चिन्ता ब्यक्त गरेका छन् उनीहरुले।
सामाजिक संजालबाट मान्छे दिक्क भएका सर्भेक्षण प्रतिवेदन आइरहेका छन्। भर्खरैको एउटा सर्भेक्षणले भनेको छ ‘जेनेरेसन जेड’ का ४१ प्रतिशत युवायुवती सोसल मिडियालाई हानिकारक मान्छन् र यसमा लाग्न चाहदैनन्।
अनुसन्धानकर्ताहरुका रिपोर्टले भन्न थालेका छन् मान्छे फेसबुकमा आफूले अराजक भएर बोलेका, देखाएका कुराले आफैं बिचलित मानसिकता लिएर जिउँछ। फेसबुके नेटवर्कले आँखामा ठोक्काउन ल्याउने मान्छेका आफ्ना र परिवारका नितान्त निजी मामिलाहरू जस्तै, लवाइखवाइ, घुमफिर, शक्ति र पहुँच, आर्जन र उपलब्धि, सेलिब्रेसन र रामरौसका कुराले ‘कम्पेरिजन सिन्ड्रोम’ अर्थात् ‘तुलना रोग’ ले गलेर भित्रभित्रै मनोरोगी हुँदै जान्छ, हरेक कुरामा नकारात्मक प्रतिक्रया दिन हतारिन्छ र बिना कुनै मनासिब कारण उसले मान्छेको भलो चिताउन छोड्छ।
ह्याकरले लामो हात गरेकोले मैले एक महिनादेखि फेसबुकलाई कोमामा राखेको छु अहिले। गोलो प्रिथ्बी र बाङ्गोटिङ्गो समाजमा केके हुँदैछ, आर्थिक, राजनीतिक, सामाजिक स्थिति र अवस्था जान्न कुनकुन साइट र एप्स मात्रै खोतल्दै बस्ने, समसामयिक मामिलामा जान्नेसुन्ने हुन, समकालीन बिचार र साहित्य पढ्न कुनकुन डट कममा कहाँकहाँ मात्रै भौंतारिदै हिड्ने, फेसबुकबिना केही हदको हर्जा नै महशुस हुने रहेछ।
तरपनि, मान्छे कोको कहाँकहाँ पुगे होला, केके पकाएर खाए होला, कसको दिक्षान्त सकियो, कसले नयाँ जागिर पायो होला, कसका छोराछोरीको बिहे, बर्तुन र बड्डे आयो होला गयो होला, कसका एनिभर्सरीमा कोको कालोकोट, फुलबुट्टे सारी लाएर नाच्यो होला, कसका मनमा कस्ताकस्ता बिरहका तरंग उठे होला, कसले कसलाई कुन ब्रम्हज्ञानका छेस्का हान्यो होला जस्ता कुरा नजान्दा र फेसबुक ‘होल्ड’ भएकोले आफूले नि तत्तत् कुरा गर्न नपाउदा भने कुनै नोक्सानी महसुस नहुने रहेछ।