स्वदेश फर्किन पाउनुपर्ने माग राख्दै झापामा गरे भूटानी शरणार्थीले प्रदर्शन

फाइल तस्बिर: बिएल

झापाको दमकस्थित शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसिआर) को कार्यालय अगाडि मङ्गलबार भूटानी शरणार्थीले स्वदेश फर्किन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन्।

करिब तीन दशकदेखि झापा र मोरङका शिविरमा बस्दै आएका शरणार्थीमध्ये स्वदेश फर्कन चाहने शरणार्थीले प्रदर्शन गर्दै युएनएचसिआरको शाखा कार्यालयमा पुगेर त्यस्तो ज्ञापनपत्रसमेत बुझाएका हुन्। प्रदर्शनमा उत्रिएका शरणार्थीले कार्यालयअगाडि सुतेर स्वदेश फिर्तीको माग राखेर नारासमेत लगाएका थिए।

झण्डै तीन दशकदेखि शरणार्थी भएर बस्दा सामाजिक, आर्थिक र पारिवारिक संरचना सबै ध्वस्त भएको उल्लेख गरिएको छ। समितिले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रको धारा १३ को उपधारा २ को सम्मानपूर्वक घर फिर्ती हुन पाउने अधिकार सुनिश्चित गर्न आफूहरुले संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष कृष्णवीर तामाङले बताए।

हाल मोरङको पथरी र झापाको बेलडाँगी शरणार्थी शिविरमा सात हजार हाराहारीमा भूटानी शरणार्थी रहेका छन्।

प्रकाशित मिति: : 2019-12-04 07:28:12

प्रतिकृया दिनुहोस्